पर्साका ८७ सहित ११५ जना नयाँ कोरोना संक्रमित थपिए
वीरगन्ज, २१ बैशाख । वीरगन्जमा सोमबार राति गरिएको १९२ वटा नमूना स्वाबको परीक्षणमा थप ११५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य ८७ जना पर्साका, २४ जना बाराका र ४ जना रौतहटका रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
५ बर्षदेखि ८० बर्ष उमेर समूहका ८४ जना पुरुष र ३१ जना महिला रहेका छन् । उनीहरुबाट संक्रमण हुन सक्ने क्षमता अर्थात सिटी भ्यालु भने १७ देखि ३५.६ रहेको डाक्टर दासले बताउनुभयो । यसअघि आईतबार पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको आईतबार राति नारायणी अस्पतालमा परीक्षण गर्दा पर्सा जिल्लाका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्ये बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । १७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरुको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डाक्टर दासले बताउनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ देखि बैशाख २० गते सम्म ३ हजार १ सय ६७ जनाको कोरोना जाँच गर्दा ती मध्ये १ हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ । डाक्टर दासका अनुसार नारायणी अस्पतालमा अहिले जटिल अवस्थाका ६५ जना संक्रमित उपचाररत रहेका छन् । ती मध्ये आइसियुमा ५ र एचडियुमा १७ जना रहेको जानकारी दिदै डाक्टर दासले सबैलाइ अक्सिजन सर्पोटमा राखेर उपचार भइरहेको बताउनुभयो ।