उद्योगमन्त्रीलाई सम्मान गर्दै उद्योग व्यावसायको समस्या समाधान गर्न माग

वीरगन्ज, ५ बैशाख । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई सम्मान गर्दै पर्सावासीले उद्योग व्यावसायमा देखिएका समस्यादेखि बन्द उद्योग सञ्चालन गर्न समेत माग राखेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न समस्याहरु समाधान गर्न माग गरेका छन् ।
मन्त्रीमा नियुक्त भएपछि गृहजिल्लामा आएका मन्त्री रिजाललाई वीगन्ज उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार सम्मान गर्दै उद्योग व्यापार क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको सम्बोधनका लागि आग्रह गर्नुभयो । मन्त्रीलाई सम्मान गर्न आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले औद्योगिक सुरक्षाको व्यावस्थापन गर्न, उद्योगबाट निस्किने दूषित पानी प्रशोधन तथा फोहोर व्यावस्थापनका लागि डम्पिङ्ग साईडको व्यावस्था गर्न, आयात तथा निर्यातमा भएका समस्याहरु समाधान गर्न माग गर्नुभएको छ ।
त्यस्तै एकीकृत भन्सार चाँच चौकी (आईसीपी) भौतिक संरचना अभावले आयात गरिएका सामानहरु नोक्सान हुने गरेकोले पूर्वाधार संरचना निर्माणलाई प्राथामिकता दिनुपर्ने, मूल्यअभिवृद्धि भ्याट तथा भन्सार महशुल लगायतका समस्यालाई समाधान गर्न पहल गर्न माग गर्नुभयो ।
सम्मानपछि मन्तव्य राख्दै उद्योगमन्त्री रमेश रिजालले उद्योगी व्यावसायीहरुको समस्या र पीडाका विषयमा आफूपनि जानकार रहकोले यसको दीर्घकालिन समाधानका लागि छलफल र नीतिगत तहबाट पनि आवश्यक निर्णय गर्ने आश्वासन दिनुभयो । उद्योगी व्यवासायीको तर्फबाट अध्यक्ष अग्रवालले राखेको मागहरुको बारेमा आफू सकारात्मक रहेको बताउदै मन्त्री रिजालले उद्योग व्यावसायमा देखिएका समस्या समाधान भए मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो ।
व्यावहारिक रुपमा देखिएका समस्या व्यवहारिक र नीतिगत र सैद्धान्तिक रुपमा देखिएका समस्याहरुलाई त्यहि ढंगबाट समाधानका लागि आफ्नोतर्फबाट सक्दो प्रत्यत्न रहने मन्त्री रिजालले बताउनुभयो । यसअघि नेपाली कांग्रेस पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा वीरगन्ज चिनी कारखना सञ्चालन गर्न जिल्लावासीले माग गर्नुभएको थियो ।
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् । उद्योग मन्त्रालय मातहतमै रहेको चिनी कारखाना मन्त्री रिजालको कार्यकालमै सञ्चालनमा आए जिल्लाका किसानहरूको सुखका दिन फेरि फर्किने उनीहरूले अपेक्षा गरे ।
जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफ्नै कार्यकालमा चिनी कारखाना सञ्चालनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफू चल्ने बताउनुभयो ।
कृषि औजार कारखाना सञ्चालनमा ल्याउनका लागि काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म सरकारबाट बजेट नपाएको गुनासो सम्बोधनका लागि आफूले पहल थालिसकेको पनि मन्त्री रिजालले जानकारी दिनुभयो ।