माइस्थान तथा मिना बजार क्षेत्रका अव्यवस्थित बजार स्थानान्तरण 

माइस्थान तथा मिना बजार क्षेत्रका अव्यवस्थित बजार स्थानान्तरण 

वीरगञ्ज, २४ माघ । वीरगञ्जको माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा लगाउदै आएको अव्यवस्थित तरकारी तथा फलफुल बजारलाई गीता मन्दिर नजिक रहेको खाली जग्गामा स्थानान्तरण गरिएको छ। मिना बजार क्षेत्रको सडक पेटीमै लगाउने गरेको तरकारी तथा फलफुल बजारले आवत जावतमा समस्या भए पछि वीरगञ्ज महानगरपालिकाले गीता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो ।

महानगरले गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित रुपमा लगाईएको तरकारी बजार गीता मन्दिर नजिकको खाली जग्गामा लगाउन आग्रह गरेको थियो । त्यस क्षेत्रको सडक पेटीमा व्यवसाय गर्दै आएका फलफुल तथा तरकारी व्यवसायीहरु गीता मन्दीर नजिकको खाली जग्गामा सरेका छन् ।

महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफुल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।

सडक पेटीमा तरकारी र फलफूल पसल राख्दा आवत जावतमा समस्या हुदै आएको थियो । महानगरपालिकाले माइस्थान तथा मिना बजार क्षेत्रको सडक तथा सडक पेटीमै लगाउने गरिएको तरकारी तथा फलफुल बजार स्थानान्तरण भएपछि मीनाबजार क्षेत्रमा आवत जावतमा सहज भएको छ ।