संरचना निर्माणका लागि जग्गा खोज्दै मधेस विश्वविद्यालय
वीरगन्ज, २५ माघ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको संचारना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भईरहेको छ । पर्सा जिल्लाको चारवटा स्थानीय तहका सम्भावित स्थानहरुमा जग्गाको खोजी गरिएको हो । विश्व विद्यालय स्थापनापछि हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ ।
नेशनल ट्रेडिङमा स्थापना गरिएको केन्द्रीय कार्यालयबा पहिलो चरणका कानून संकाय र सार्वजनिक प्रशासन विषयको अध्ययन शुरु गर्ने योजना रहेको मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले बताउनुभयो । विश्वविद्यालय निर्माणका लागि ठूलो क्षेत्रफलका जग्गा आवश्यक भएकोले एकै ठाउँमा आवश्यक जग्गा उपलब्ध हुने सम्भावना नभएकोले विभिन्न स्थानीय तहहरुमा सम्भावित स्थानहरु खोजी गरिएको प्राध्यापक डाक्टर शाक्यको भनाई छ ।
उहाँका अनुसार हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ र १९ मा रहेको २०÷२५ विगाह ऐलानी प्रति जग्गामा केन्द्रीय कार्यालय रहने गरी जग्गाको खोजी गरिएको छ । त्यसका लागि वडा अध्यक्ष र नगर प्रमुखसँग सहमति समेत भएको छ । त्यस्तै पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा पनि १५–२० विगाह जग्गा नगर प्रमुख प्रधुम्न चौहानले विश्व विद्यालय स्थापनाका लागि दिने प्रतिबद्धता जनाएको उपकुलपति प्रा.डा.शाक्यले बताउनुभयो ।
पोखरियामा उपलब्ध जग्गामा निर्माण हुने संरचनामा नर्सिङ्ग, अहेब, ल्याब टेक्निसियन, पारामेडिकल लगायतका विषयको अध्यापन गराउने योजना रहेको उनले बताए । त्यसैगरी पर्साको पकाहाममैनपुर गाउँपालिकाको कटिबलुवामा रहेको राधाकृष्ण मठको जग्गा पनि विश्व विद्यालयको संरचना निर्माणको संभावित स्थानको रुपमा हेरिएको छ । त्यहाँ सबैभन्दा धेरै ४० विगाह जति क्षेत्रफलको जग्गा रहेको उपकुलपति प्रा.डा.शाक्यले बताउनुभयो ।
बहुदरामाईमा पनि विश्वविद्यालयको लागि जग्गा दिन तयार रहेको छ । बहुदरामाई नगरपालिका वडा नम्बर २ मा रहेको ३०÷३५ विगाह ऐलानी जग्गा नगरपालिकाले विश्वविद्यालय स्थापनका लागि उपलब्ध गराउन तपार रहेको प्रा.डा.शाक्यले बताउनुभयो । उक्त जग्गा विश्वविद्यालयको नाममा ल्याउनका लागि प्रकृया समेत शुरु गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विश्वविद्यालय स्थापनका लागि करिब २०० विगाह क्षेत्रफलको जग्गा आवश्यक रहेको छ । विश्वविद्यालयको कानूनी र संगठनात्मक संरचनाहरु निर्माण भईसकेको छ । विश्व विद्यालयको सिनेट गठन भएर संगठनात्मक र प्रशासनिक नियमावली एवं कर्मचारी नियमावलीहरु पनि पारित भईसकेको छ । बजेट पनि १० करोड निकाशा भईसकेको छ ।
उपकुलपति प्रा.डा.शाक्यले भन्नुभयो, “अहिले स्थापनाको चरणमा पनि यति का हुनु ठूलो उपलब्धी हो । पहिलो सुरुवातमा अलिकति कठीन त छ । पठ्यक्रम तयार गर्नका लागि विज्ञ समूहले अध्ययन गर्छ । पाठ्यक्रम समितिमा जान्छ । त्यसपछि सभाबाट पारित गर्छौ । ६ महिनामा प्रकृया पूरा गरेर दुईवटा भएपनि संकाय अध्ययन शुरु गर्ने प्रयास गरिरहेका छौं । यहि गतिमा अगाडि बढे हामी सफल हुन्छौं ।”
चलिरहेको पाठ्यक्रम भन्दा पनि नयाँ नयाँ अन्तराष्ट्रिय स्तरमा बिक्री हुने खालको पाठ्यक्रमहरु समावेश गर्ने योजना रहेको उहाँले बताउनुभयो । नयाँ नयाँ रोजगारी पाउने खालको प्राविधिक, वैज्ञानिक रुपमा रोजगारी सृजना गर्ने खालको पाठ््यक्रमको विकास गर्ने योजना रहेको उपकुलपति शाक्य बताउनुहुन्छ । यसले अध्ययनका लागि विदेश जानेहरुको संख्या पनि कम हुने र रोजगारीको पनि सृजना हुने दावी उहाँको छ ।