नेशनल इन्फोटेक कलेज र गौतम माविका विद्यार्थीद्वारा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास

नेशनल इन्फोटेक कलेज र गौतम माविका विद्यार्थीद्वारा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास
संयुक्त राष्ट्रसंघको नमूना अभ्यासमा विभिन्न देशको प्रतिनिधिको रुपमा सहभागी गौतम मावि र नेशनल इन्पफोटेकका विद्यार्थीहरु

वीरगञ्ज, १९ चैत । नेतृत्वमा युवाहरुको पहुँचका लागि नेशनल इन्फोटेक कलेज र गौतम माध्यामिक विद्यालयका विद्यार्थीहरुले  संयुक्त राष्ट्र संघको नमूना अभ्यास गरेका छन् । नेशनल इन्फोटेक कलेजमा आयोजना गरिएको संयुक्त राष्ट्र संघको नमूना अभ्यास कार्यक्रमको उद्घाटन प्रमुख अथिति हेटौंडा स्कुल अफ म्यान्जेमेन्ट एण्ड सोसल साईन्सका संस्थापक निर्देशक पुरण बहादुर जोशीले गर्नुभएको थियो ।


उदघाटनपछि मन्तव्य व्यक्त गर्दै जोशीले यस्ता महत्वपूर्ण अभ्यासले विद्यार्थीहरुको क्षमता विकास हुनुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत आफ्ना कुराहरु राख्न सक्षम हुने बताउनुभयो । उहाँले परम्परागत शिक्षा प्रणालीले विद्यार्थीहरुको समग्र विकास नहुने भन्दै वैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । जोशीले नमूना अभ्यासले विद्यार्थीहरुको नेतृत्व र क्षमता विकास हुने भएकोले भविष्यमा राष्ट्र र अन्तराष्ट्रस्तरमा समेत नेतृत्व लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । 


मोफसलमा पहिलो पटक गौतम माध्यामिक विद्यालयले शुरु गरेको राष्ट्रसंघको नमूना अभ्यासको तेश्रो संस्करणमा भने नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरु पनि सहभागि भएका हुन् । यसअघि गौतम माध्यामिक विद्यालयले दुईपटक राष्ट्रसंघको अभ्यास गरिसकेका छन् । तीन दिनसम्म चल्ने (जीएसएस एमयुएन) मा सहभागी विद्यार्थीहरुले २३ वटा देशको नमूना प्रतिनिधित्व गरेर विश्वका देशहरुमा देखिएका समस्या र समाधान खोज्नका लागि नमूना संयुक्त राष्ट्रसङ्घमा छलफल गर्नेछन् । 


नमूना अभ्यासमा संयुक्त राष्ट्रसंघले गर्ने क्षेत्रीय आर्थिक एकीकरण, जलवायु परिवर्तन, आणविक हतियारमा रोक,  महिला सशक्तिकरण, रङ्गभेद, जातीय मुद्दा, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयहरूमा छलफल हुनेछ । जीएसएस एमयुएन नमूना संयुक्त राष्ट्रसङ्घका संयोजक एल्विन रेन्जरको सभापतित्वमा भएको कार्यक्रममा नेसनल इन्फोटेकका निर्देशक मनिष सिंह, गौतम माध्यमिक विद्यालयका कार्यकारी निर्देशक सोनम लामा, सहायक प्रधानाध्यापक परिक्षा लामा, विआईटी कलेजका निर्देशक आर.के.शर्मा,

ग्लोबल बिज्ने कलेजका ओम श्रेष्ठ, श्रीराम दास, जीवन ज्योति विद्यालयका प्रधानाध्यापक शिव गुप्ता, नवदिप एकेडमीकी संस्थापक निर्देशक सुशिला साह, मानवसेवा आश्रम प्रदेश नम्बर २ का संयोजक देवेश गुप्ता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे, पत्रकारहरु राधेश्याम पटेल, संतोष रञ्जितकार, मन्सुर खान लगायतको उपस्थिति रहेको थियो । राकेश कुमार साहको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण सौराज प्रधानले गरेका थिए ।