वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

वीरगन्ज, २१ चैत । वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । वीरगन्जको होटल क्लार्क रिसोर्टमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको उपस्थितिमा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुवोध गुप्ता लगायतका पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले सपथ खुवाउनु भयो ।


सपथ ग्रहणपछि बोल्दै प्रमुअ अतिथि मुख्यमन्त्री लालबाबु राउत गद्दीले मुलुकको समृद्धि र विकासका लागि राज्यको लगानीमैत्री वातावरण र नीति हुनु आवश्यक रहेको औंल्याउनु भयो । वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राउतले समृद्धि र विकास गर्नुछ भने कानून लगानीमैत्री र शासक लगानीकर्ताहरुसँग सभावमैत्री हुनुपर्ने बताउनु भएको हो ।


अहिले प्रदेश सरकारले केही गर्न खोजेको भएपनि संविधानले दिएको अधिकार समेत प्रयोग गर्न नपाएको र ऐनहरु बाधक बनेको बताउनुभयो । संविधानमा एउटा कुरा लेखिएको छ शासकको मानसिकता अर्कै भएकोले मुलुक समृद्धिमा जान नकसकेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजीक्षेत्रसँग राज्यका तिनै तहले समन्वय र सहकार्य गरेर जान सके समृद्धि टाढा नभएको बताउनुभयो ।

उहाँले निजीक्षेत्रका मुद्दाहरु तीनवटै तहका सरकारले स्वामित्व ग्रहण गरेर समाधान गरे समृद्धिको ढोका खुल्ने बताउनुभयो । वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, पूर्व केन्द्रीय उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ,  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा संविधानसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका अधिकारीहरु तथा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । निवर्तमान अध्यक्ष गोपाल केडियाले स्वागत र बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले धन्यवाद मन्त्वय राख्नुभएको कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो ।