एसईई परीक्षा आजदेखि शुरु, पर्सामा ९ हजार ५८ जना परीक्षार्थी सहभागी हुदै

एसईई परीक्षा आजदेखि शुरु, पर्सामा ९ हजार ५८ जना परीक्षार्थी सहभागी हुदै

माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो ।

अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । पर्सामा तीनजना बालसुधार गृहका सहित ९ हजार ५८ जनाले परीक्षामा सहभागी हुने शिक्षा विकास समन्वय इकाई प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसमध्य नियमिततर्फ ८ हजार ६ सय ९१ जना, प्राविधिक तर्फ २ सय ९ जना र ग्रेडवृद्धिका १ सय ५३ जना रहेका छन् । छात्र ४ हजार ८ सय ४७ र छात्रा ४ हजार १ सय ८९ जना गरी ९ हजार ५८ जनाले परीक्षा फाराम भरेको इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।

पर्सामा वीरगन्ज महानगरपालिकामा १४ वटा र महानगर बाहिरका नगरपालिका र गाउँपालिकाहरुमा ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा हुदैछ ।