‘वीरगन्ज महानगरपालिकामा एमाले र लोसपा गठबन्धन फ्याक्टर’
वीरगन्ज । जति दलले गठबन्धन गरेपनि देशभर नेकपा एमालेले दुईतिहाई बहुमतले निर्वाचन जित्ने ढ्वाङ पिटेको नेकपा एमालेले अन्ततः पूर्वपञ्च र मण्डलेहरुसँग गठबन्धन गरेको छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादीहरु देशको व्यावस्थालाई मूलधारबाट बाहिर जान नदिन ओली नेतृत्वको सरकारलाई ढालेर स्थानीय तहको निर्वाचनमा समेत गबन्धन गरेर जानेभएपछि पाँचदलीय गठबन्धनलाई अपवित्र भन्ने नेकपा एमालेले अहिले आफूले भने पूर्व राजावादी र पञ्चेहरुसँग हात मिलाउन पुगेर आफूलाई गंगाले नुहाएको जस्तै पवित्र भएको अनुभूत गरिरहेको छ ।
बैशाख ८ गते बिहीबार वीरगन्जमा अप्रत्याशित रुपमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने सहमति गरेको छ । देशभर महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाएको पाँचदलीय गठबन्धनको निर्णय पश्चात देखिएको गठबन्धन भित्रै कै असन्तुष्टिले पनि आफू एक्लैले जित्न सक्ने नेकपा एमालेको आत्मबल कमजोर भएको छ भन्ने लोसपासँगको गठबन्धनले स्पष्ट पारेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेसमा देखिएको क्रेज र एमालेजनहरुको सक्रियताले देश साँच्चै एमालेमय हुने भयो भनेर अत्तालिएका पाँचदलीय गठबन्धनभित्र भागबण्डा मिलेपनि अझै मतदाताको मन मिलाउन चुनौती छ । तथापी आक्रामक प्रचारवाजी सहित देश दौडाहा गरिरहेको केपी ओलीलाई एक्ले जित्न सकिन्छ भन्ने आँट र भरोसा भने नआएको देखिन्छ ।
लोसपमा पनि उच्च तहका नेताहरुको सिट सुरक्षित राख्न संविधानमा भएको प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य व्यावस्थालाई धुलीसात गर्ने तयारी छन् । बिहीबार लोसपासँग गरिएको गठबन्धनको सहमतिले त्यहि संकेत गरेको छ । वीरगन्ज महानगरपालिकामा गरिएको गठबन्धनको सहमति मात्रै होईन यो गठबन्धन आउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित रहेकोे पनि अनुमान लगाउन सहज भएको छ ।
नेकपा एमालेले अहिले नवप्रवेशी विजय कुमार सरावगीलाई नगर प्रमुखको उम्मेदवार सिफारिस गरेको छ । एमालेबाट उहाँको नाम एक्लो सिफारिस भएको छ । सबै पालिकाहरुबाट सर्वसम्मत नाम सिफारिस गर्न सफल भएको देखाएको छ । उपप्रमुखको नाम सिफारिस नगर्नु र उम्मेदवार मनोनयनको मिति भन्दा तीन दिन अघि मात्रै लोसपासँग गठबन्धन गर्नुले पनि अब अन्य स्थानीय तहहरुमा पनि एमाले र लोसपाको प्रमुख र उपप्रमुखको तालमेल हुने बुझ्न कठिन छैन ।
तर, लोसपाको एक समूहले भने असन्तुष्टि जनाएको छ । मधेस आन्दोलनबाट मधेस सरकार स्थापित भए सहिद परिवारलेले ५० लाख पाउने उत्घोष गरेर मधेसी जनतालाई आन्दोलनमा आउन उक्साउने र सहिद बनाउने मधेसवादी दलको नेतृत्व नै मधेस आन्दोलनमा गोली चलाएर मधेसीको हत्या गर्न लगाउने केपी ओलीसँग गठबन्धन गर्नुको पछाडिको रहस्य आफ्नो स्थान सुरक्षित गर्ने बाहेक अरु केही नहोला !
यसले वीरगन्ज महानगरमा गरिएको एमाले र लोसपाको गठबन्धनबाट केही नेता कार्यकर्ताहरु असन्तुष्ट हुनुको तुक भने देखिदैन । होईन भने यसको औचित्य पुष्टि गर्नुसक्नुपर्ने हुन्छ । गएको प्रतिनिधिसभा निर्वाचनमा त्यतिखेर झापा कृष्ण प्रसाद सिटौला र जनकपुरबाट विमलेन्द्र निधिलाई पराजित गर्ने केपी ओलीको रणनीतिमै राजेन्द्र महतो र राजेन्द्र लिङ्गदेन विजयी भएको भन्ने व्यापक चर्चा चलेको थियो ।
अहिले पर्साको वीरगन्ज महानगरपालिकामा भएको एमाले र लोसपाको गठबन्धनलाई त्यहि रणनीति अनुसार हेरिएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा एमालेले प्रमुख विजय कुमार सरावगी र लोसपाको उपप्रमुख पुरुषोत्तमलाल झालाई जिताउन गठबन्धन बनेको छ । त्यसपछि आउने प्रतिनिधिसभा निर्वाचनमा विमल श्रीवास्तव र लक्ष्मणलाल कर्णलाई प्रतिनिधिसभा निर्वाचनमा जित सुनिश्चत गर्नका लागि गोरेटो निर्माण शुरु गरिएको छ ।
किनभने, अहिले बहाल रहेको प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णको पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको विश्वासिलो र भरपर्दो उम्मेदवार छैन । विमल श्रीवास्तव पनि आफ्ना विश्वासिला पात्र पुरुषोत्तमलाल झा सहितका नेता कार्यकर्ताहरुलाई ठाउँ दिदैँ आपूm प्रतिनिधिसभा निर्वाचनको लागि स्थान सुरक्षित गर्न चाहनुहुन्छ ।
प्रतिनिसिभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादीबाट प्रवेश गर्नुभएका जालिम मियाँ उम्मेदवारको दावेदार हुनुहुन्छ । तर, नेकपा एमालेलाई जालिम मियाँको भरोसा त्यति लागेको छैन । अब आउने निर्वाचनमा त्यस क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल बलियो उम्मेदवार रहनु भएको छ ।
गएको प्रतिनिधिसभा निर्वाचनमा जितेको आधारमा पनि फेरी लक्ष्मणलाल कर्ण नै पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार हो भन्ने अनुमान लगाउन सकिन्छ । महानगरपालिकामा भएको गठबन्धनमा उहाँको उपस्थितिले पनि थप बल पुगेको छ ।
होईन भने लोसपाले आवश्यकता अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय केन्द्रीय समितिबाट गरेको हो भने, देशभर तालमेलको चर्चा हुनुपर्ने थियो । वीरगन्जमा मात्रै तालमेल हुनुपर्ने त्यस्तो आवश्यकता के प-यो भन्ने प्रश्न गर्नेहरुलाई पनि शंकाको सुविधा दिएको छ ।