मंसिर ४ को निर्वाचनमा बारामा मन्त्रीहरुको भीडन्त
वीरगन्ज, १८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा बारा जिल्लामा मन्त्रीहरुको भीडन्तको संयोग मिलेको छ । बाराको चारवटै निर्वाचन क्षेत्रमा वर्तमान र पुर्व मन्त्रीहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। बाराको निर्वाचन क्षेत्र नम्बर–१ मा वर्तमान मन्त्री उमाकान्त चौधरी, क्षेत्र नम्बर–२ मा पूर्व मन्त्री रामसहाय यादव, क्षेत्र नम्बर–३ मा पूर्व मन्त्री ज्वाला कुमार साह र क्षेत्र नम्बर–४ मा पूर्व मन्त्री किसान श्रेष्ठ र एकबाल मियाँ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।
क्षेत्र नम्बर–१ वर्तमान मन्त्री चौधरीले नेकपा एमालेका अच्युत मैनालीसँग प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर–२ मा पूर्व वन ताथा वातावरण मन्त्री यादव सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माओवादीका शिवचन्द्र कुश्वाहासँग चुनावी प्रतिस्पर्धामा हुनुहन्छ । त्यस्तै क्षेत्र नम्बर–३ मा पूर्व मन्त्री ज्वाला कुमार साह नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ ।
जसपाका रामबाबु कुमार यादव र सत्ता गठवन्धनका तर्फबाट लोसपाका लालबाबु सिंह चुनावी प्रतिस्पर्धामा रहेका छन । यता क्षेत्र नम्बर–४ मा भने पूर्व मन्त्रीद्वय आमने सामने भएका छन् । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) र पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियाँ एमालेबाट चुनावी प्रतिस्पर्धा हुनुहुन्छ ।
मियाँ केपी ओली नेतृत्वको सरकारमा १८ दिने मन्त्री बन्नुभएको थियो । उम्मेदवारी मनोनयन गर्ने दिन भन्दा एकदिन अघि असोज २२ गते मात्रै एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।
मधेस आन्दोलनपछि वर्तमान लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले उहाँलाई गएको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनु भएको थियो । राजनीतिमासँगै रहनुभएका मियाँ एकाएक एमालेमा प्रवेश गरेर अहिले विपरित ध्रुवको राजनीतिमा देखिनुभएको छ ।