संदीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
काठमाडौं । क्रिकेटर संदीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा आज सकिएको थुनकछेक बहसपछि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । उहाँका अनुसार संदीपलाई केन्द्रीय कारागारमा राखिनेछ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।
एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।