उपराष्ट्रपतिज्यूलाई निर्वाचन तयारी बारे आयोगको जानकारी

उपराष्ट्रपतिज्यूलाई निर्वाचन तयारी बारे आयोगको जानकारी
तस्वीर : उपराष्ट्रपतिको सचिवालयबाट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग भएको बताउनुभएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारी बारे जानकारी गराउन शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्नुहुँदै उपराष्ट्रपतिज्यूले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आयोगले गरिरहेको निर्वाचनको तयारी बारेमा खुसी व्यक्त गर्नुभयो । ‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताउनुभयो ।

उहाँले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउनुहुँदै उपत्यका बाहिरका जिल्लाहरुमा ढुवानीसमेत भइसकेको जानकारी गराउनुभयो । उहाँले मतदान सम्पन्न भएपछि आयोगले छिटो भन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताउनुभयो ।