द्विवेदीको मनोनयनले कुन गठबन्धनलाई चुनौती ? 

द्विवेदीको मनोनयनले कुन गठबन्धनलाई चुनौती ? 

वीरगन्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । आईतबार शान्तिपूर्ण रुपमा सम्पन्न मनोनयन दर्ताले अब चुनावी सरगर्मी झन बढ्दै गएको छ ।

पर्सामा प्रतिनिधिसभा निर्वाचनको ४ क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र ८ गरी १२ पदका लागि १४४ जना उम्मेदवारको मनोनयन परेको छ । त्यसमध्य ८२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी अधिकांश प्रदेशसभा निर्वाचन क्षेत्रमा परेको छ ।

त्यसमा पनि जसपाका नेताहरुको स्वतन्त्र उम्मेदवार बढी परेको छ । स्वतन्त्र भनेर उम्मेदवारी मनोनयन गर्नेहरु बागी हुन् या स्वतन्त्र भन्नेमा पनि बहस हुन थालेको छ । कतिपय बुद्धिजीविहरुले उनीहरुलाई स्वतन्त्र भन्दा पनि बागी भन्नुपर्ने बताउछन् ।

एकदिन अघिसम्म पार्टीको झण्डा बोकेर हिड्ने टिकट नपाएपछि नेपालको झण्डा बोकेर स्वतन्त्र भईन्छ ? भन्ने प्रश्न गर्न थालेका छन् । सामाजिक सञ्जालहरुमा पनि यस्ता खालका टिप्पणीहरु देख्न पाईन्छ । स्वतन्त्र उम्मेदवारी दिएको मध्य सबैभन्दा रोचक पर्सा क्षेत्र नम्बर १ मा हुने भएको छ ।

एमाले जसपाको समिकरणलाई बाम लोकतान्त्रिक गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारबाट बढी चुनौती देखिएको छ । पर्सा क्षेत्र नम्बर एकमा एमाले जसपाको गठबन्धनबाट जसपाका नेता बहालवाला वनमन्त्री प्रदीप यादव र बाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्णको उम्मेदवारी परेको छ ।

त्यस्तै राप्रपाबाट किरण डंगोलले उम्मेदवारी दिनुभएको छ । कर्ण र डंगोलेको मनोनयनले एमाले जसपा गठबन्धनका उम्मेदवार यादवलाई सहज भएपनि स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय कुमार द्विवेदीको मनोनयनले भने चुनौती थपेको छ ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति, संविधानसभा सदस्य एवं वीरगन्ज महानगरपालिकाका नगर उपप्रमुख समेत भईसक्नु भएका द्विवेदी पर्सामा विद्धत नेताको रुपमा पहिचान भएको व्यक्ति हुनुहुन्छ । नेपाली कांग्रेस भित्रकै आन्तरिक कलहले पाखा पारिनुभएका द्विवेदी २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रमुखमा पराजित हुनु भएको थियो ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नगर प्रमुखको दाबेदार रहनुभएका द्विवेदी कांग्रेसकै राजनीतिक प्रतिशोधको शिकार बन्नु भएको थियो । नेपाली कांग्रेसको महाधिवेशनमा संस्थापन इतरबाट विमलेन्द्र निधि पक्षमा लाग्नुभएका उहाँलाई पर्सामा कांग्रेस संस्थापन पक्षले सबै ठाउँमा निषेध गर्दै गएपनि पार्टीको महानगरपालिकाको निर्वाचनमा भने आफ्नो बर्चस्व कायम राख्न द्विवेदी सफल हुनुभयो ।

पर्सा क्षेत्र नम्बर १ का दाबेदार भएपनि गठबन्धनको नाममा उहाँलाई फेरी टिकटबाट बञ्चित गरियो । द्विवेदीले टिकट नपाउने संकेत पाएपछि एमालेबाट भएपनि क्षेत्र नम्बर १ मा लड्ने व्यापक चर्चा भयो । तर, फेरी जसपा र एमालेको समिकरणले एमालेबाट टिकट पाउने संभावनाको पनि अन्त्य भयो ।

अन्ततः असोज २३ गते सोमबार द्विवेदीले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गर्नुभयो । द्विवेदीको मनोनयनले भने एमाले जसपा समिकरणमा केही फेरबदल आउन सक्ने सम्भावनाहरु जीवित रहेको स्थानीय राजनीतिक विश्लेषकहरुको बुझाई छ । मतदाता हरेक निर्वाचनमा विकल्प खोजी रहेका हुन्छन् ।

मतदाताले विकल्प खोज्ने गरेको पुष्टि स्थानीय तहको निर्वाचनले पनि गरेको छ । त्यो आधारले पनि अहिले पार्टीप्रतिको वितृष्णा र असन्तुष्ट नेता कार्यकर्ताहरुले विकल्पको रुपमा उम्मेदवार चयन गर्ने अनुमान लगाउन थालिएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका कर्ण यसअघि पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पनि हुनुहुन्छ । उहाँको यसअघिको गतिविधिले पनि यसपटक उहाँलाई मतदाताले रुचाउलान की नरुचाउलान भन्ने दोमन छ ।

त्यस्तै एमाले जसपा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रदीप यादवको सम्भावना बलियो भएपनि निर्वाचनको संघारमा मधेस र मधेसीप्रति कठोर बनेका केपी ओलीसँग उपेन्द्र यादवले सौदाबाजी गरेको आक्रोश मधेसी जनतामा देखिन्छ ।

टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका एकदिन पहिलेका जसपाका नेताहरुको अभिव्यक्तिबाट पनि त्यो बुझ्न सकिन्छ । यद्यपि राजनीतिक खेलको अर्को पाटोको रुपमा पनि यसलाई लिन सकिने विश्लेषण गरिएको छ । उम्मेदवारहरुमाथि दावी विरोध गर्ने समय सोमबार साँझ ५ बजेसम्म रहेकोले यसबाट पनि केही राजनीतिक कोर्स परिवर्तन हुनसक्ने सम्भावनाहरु रहेका छन् ।

तथापी अहिलेको राजनीतिक परिदृश्यमा भने बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारी दिनुभएका द्विवेदीबाट एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादवलाई बढी चुनौती देखिन्छ ।

एमाले जसपा गठबन्धनका उम्मेदवार यादवमाथि यसअघि स्थानीय तहमा भएको पाँचदलीय गठबन्धनको मर्म र भावना विपरित जिल्ला समन्वय समिति र वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा एमालेसँगै मिलेर गठबन्धलाई धोका दिएको घटनाले बाम लोकतान्त्रिक गठबन्धनलाई बदला लिने अवसर त छ ।

तर, यादव भन्दा कर्ण कमजोर उम्मेदवार हुनु र कांग्रेसको लिगेसी बोकेको दिग्गज नेताको स्वतन्त्र उम्मेदवारीले मतदाताहरुको मनसाय पनि परिवर्तन भएमा बाम लोकतान्त्रिक गठबन्धन भन्दा द्विवेदी एमाले जसपा गठबन्धनलाई भारी पर्न सक्ने संभावना छ ।