भन्सार एजेण्टमा लिखित परीक्षामा पास भएका बहालवाला सरकारी कर्मचारीले अन्तरवार्तामा भाग लिन नपाउने
वीरगन्ज, ४ असार । भन्सार एजेण्टको लागि लोकसेवा आयोगको सहयोगमा भन्सार विभागले लिएको परीक्षामा पास भएका निजामति कर्मचारी परीक्षार्थीहरुले अन्तरवार्तामा भाग लिन नपाउने भएका छन् ।
२०७९ बैशाख १७ गते लिएको भन्सार एजेण्ट (अनुमतिपत्र) को लिखित परीक्षामा ८६० जना पास भएका थिए । ६६० जनाको लागि लिईएको लिखित परीक्षामा ५ हजार ६ सय १५ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये निजामित कर्मचारीहरुले पनि भन्सार एजेण्टको परीक्षामा भाग लिएका थिए ।
भन्सार एजेण्टको परीक्षामा निजामति कर्मचारीहरुले पनि भाग लिएको भन्दै भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि भन्सार विभागले लिखित परीक्षामा उत्तीर्ण भएका निजामति कर्मचारीहरुलाई अन्तरवार्तामा भने सहभागि नगराउने भएको हो ।
अर्थ मन्त्रालयले असार ३ गते बहालवाला निजामति कर्मचारीहरुलाई भन्सार एजेण्ट (अनुमति पत्र) को अन्तरवार्तामा सहभागी नगराउन निर्देशन सहितको पत्र भन्सार विभागलाई पठाएपछि विभागले सूचना प्रकाशित गरेर निजामित कर्मचारीहरुलाई सहभागी नगराउने जनाएको छ ।
भन्सार एजेण्टको परीक्षामा प्रश्नपत्रमा समेत त्रुटी भेटिएको, बहालवाला निजामति कर्मचारीहरुले पनि परीक्षा दिएको तथा नतिजा प्रकाशनमा पनि चलखेल भएको परीक्षामा सहभागीहरुले आरोप लगाउदै आएका छन् ।