देशभर कहाँ कस्तो छ मौसमको प्रभाव ?
वीरगन्ज, २९ साउन । मनसुन सकिने बेलामा देशभर सक्रिय हुँदा प्राकृतिक विपद निम्त्याएको छ । गएको २४ घण्टामा परेको बर्षाले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ ।
यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएका बताउनुभयो । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ ।
यस्तै सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । गएराति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको उनले बताइन्। यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ ।
गण्डक ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता अपनाइएको बताइएको छ । नारायणगढ पुलमै पानीको सतहले खतराको तह पार गरेको छ । नारायणी पुलमुनि पानीको सतह ११ मिटर पुगेपछि चेतावनीको तह मान्ने गरिएकोमा पानीको सतह ११ दशमलव १५ मिटर पुगेको छ । नारायणीमा पानीको सतह निकै माथि पुगेपछि चितनव, नवलपुर र नवलपरासी जिल्ला प्रशासनले चेतावनी जारी गरेका छन् ।
यसैगरी महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ । डडेलधुरा क्षेत्रको महाकाली नदीमा पानीको बहाव अहिले ६ दशमलव ८४ मिटर पुगेको छ । सात मिटर पुगेमा खतराको तह मानिन्छ ।
यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । सुर्खेतको कर्णाली नदीमा अहिले पानीको बहाव ७ दशमलव ६९ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।
कर्णालीमा पानीको सतह ८ मिटर पुगेमा खतरा तह मानिन्छ । यस्तै, बर्दियाको बबई नदीमा पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच, कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । यस्तै, चितवनमा पनि नारायणी नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३५ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ९ मिटर पुगे खतरा मानिन्छ ।