गौर हत्याकाण्डको मुद्दा सर्वोच्चमा दर्ता, पेशी सोमबारलाई तोकियो
वीरगन्ज, २१ जेठ । गौर हत्याकाण्डको मुद्दा आईतबार सर्वोच्च अदालतमा दर्ता भएको छ । दोषीलाई कानूनी कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा आईतबार रिटदर्ता गरेको हो । त्रिभुवन साह समेतले नेपाल सरकार मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई दोषीलाई कानूनी दायरामा ल्याउन पीडितले माग गर्दै मुद्दा दर्ता गरेको हो ।
२०६३ साल चैत्र ७ गते (सन् २००७ मार्च २१) रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादीले एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुईपक्षबीच झडप हुँदा माओवादीतर्फ २७ जना कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो ।
सोही झडपमा कैयौ घाईते भएका थिए । उक्त घटनामा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका नेता कार्यकर्ताहरुले माओवादीका कार्यकर्ताहरुले आक्रमण गरेर विभत्स हत्या गरेका थिए ।
गौर हत्याकाण्डको विषयमा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले आवाज उठाउदै आउनु भएको छ । उहाँले उत्त घटनालाई वेवास्ता गरे माओवादी जनयुद्धमा लागेकाहरुलई अन्याय हुने बताउदै आउनु भएको छ ।