सुवास नेम्वाङको निधनप्रति शीर्ष नेताहरुद्वारा समवेदना व्यक्त

सुवास नेम्वाङको निधनप्रति शीर्ष नेताहरुद्वारा समवेदना व्यक्त

वीरगन्ज, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ । नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ । नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो ।’

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पु¥याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले मृदुभाषी, विनम्र, शालीन व्यक्ति सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिने शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमै पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा पुग्नुभएको छ ।