मधेस प्रदेशमा ६५.३० प्रतिशत मतदान
वीरगन्ज, ५ मंसिर । जनसंख्याको हिसाबले दोश्रो ठूलो प्रदेश मधेसमा आईतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ६५.३० प्रतिशत मतदान भएको छ । सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार ३ लाख ४५ हजार ९२८ कूल मतदाता रहेको पर्सामा २ लाख ३८ हजार ६१६ मत अर्थात ६८.८९ प्रतिशत, कूल ४ लाख ३३ हजार ५०४ मत रहेको बारामा २ लाख ८९ हजार ८४१ मत खसेको छ यो ६६.८६ प्रतिशत हो ।
त्यस्तै रौतहटमा ६२.४७ प्रतिशत मत खसेको छ । ४ लाख १५ हजार ४५५ कूल मतदाता संख्या रहेको रौतहटमा २ लाख ५९ हजार ५२८ मत खसेको छ । सर्लाहीमा ४ लाख ७९ हजार ३८ मतदाता मध्य २ लाख ९७ हजार ७०१ मतदाताले मतदान गरेका छन् । त्यहाँ कूल मतदाताको ६२.१५ प्रतिशत खसेको छ । त्यसैगरी महोत्तरीमा ६३.९४ प्रतिशत मत खसेको छ ।
कूल मतदाता संख्या ३ लाख ९७ हजार ३० मतदाता रहेको महोत्तरीमा २ लाख ५३ हजार ८५५ मत खसेको छ । धनुषामा ३ लाख १२ हजार १७० मत खसेको छ । ४ लाख ७४ हजार ६२४ मतदाता रहेको त्यहाँ कूल मतदाताको ६५.७७ प्रतिशतले मतदान गरेका छन् । सिराहामा पनि ६६.८७ प्रतिशत मत खसेको छ ।
२ लाख ८२ हजार ६७५ मतदान भएको सिराहामा कूल मतदाता संख्या ४ लाख २२ हजार ७१२ जना रहेका छन् । सप्तरी जिल्लामा २ लाख ७७ हजार २४६ मत खसेको छ । ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको सप्तरीमा कूल मतदाताको ६६.२७ प्रतिशत मत खसेको छ । यसरी मधेस प्रदेशमा ६५.३० प्रतिशत मत खसेको हो ।