शेयर लगानीकर्ताको गुनासो सुन्न अर्थमन्त्री शर्माको गर्भनरलाई निर्देशन 

शेयर लगानीकर्ताको गुनासो सुन्न अर्थमन्त्री शर्माको गर्भनरलाई निर्देशन 

काठमाडौं, २१ भदौ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिका पछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनबाट जानकारी लिनुभएको छ ।

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएपछि गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री शर्माले कुराकानी गर्नुभएको हो । कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ ।

मन्त्री शर्माले कहाँ–के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नर अधिकारीलाई निर्देशन दिनुभएको छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।