आज २९ औं आदिवासी दिवस मनाईदै, कोशी प्रदेशमा सार्वजनिक विदा
वीरगन्ज, २४ साउन । हरेक बर्ष अगष्ट ९ अर्थात साउन २४ गते मनाईदै आएको विश्व आदिवासी दिवस आज नेपालमा पनि मनाईदै छ । २९औँ विश्व आदिवासी दिवस नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ । नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी सहितको र्याली निकाल्ने कार्यक्रम पनि रहेको छ ।
राष्ट्रसंघको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ को दिन अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ ।
नेपालका आदिवासी जनजाति आन्दोलन नेपाल एकीकरण पश्चात राणाशासन कालदेखि नै सक्रिय रहेपनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य हुँदासम्म पनि जारी रहेको छ । यो आन्दोलन कहिलेसम्म जारी रहने भन्ने यकिन छैन ।
२०६३ पछि शुरु भएको मधेस आन्दोलनले उपलब्धि हासिल गरेर पहिचान स्थापित गरिसकेपनि आदवासी जनजाति समुदायहरु भने अझै पनि आफ्नो अधिकारका लागि लडाई जारी राख्नु परिरहेको छ । यस दिवसको अवसरमा कोशी प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।