अतिक्रमण हटाउन वीरगन्ज महानगरको डोजर निरन्तर चल्यो 

अतिक्रमण हटाउन वीरगन्ज महानगरको डोजर निरन्तर चल्यो 

वीरगञ्ज, २६ चैत । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचना भत्काउन शुरु गरेको वीरगन्ज महानगरपालिकाले निरन्तर डोजर चलाएर अतिक्रमण हटाएको छ । वीरगञ्जको घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै बन्द गरेर अतिक्रमण गरी बनाइएको संरचनामा शनिबार डोजर लगाएर भत्काएपछि महानगर प्रमुख सिंहको प्रशंसा गर्नेहरुको संख्या पनि बढ्न थालेको छ ।

शनिबार डोजर लगाइएको  महानगरपालिकाको वडा नम्वर १० घडिअर्वा पोखरीको प्रमुखद्वार सामुन्ने रहेको मन्दिरमा आईतबार पनि डोजरले  पूर्ण रुपमा अतिक्रमण हटाइएकोे छ । शम्भुनाथ तिवारी भन्ने व्यक्तिले आफू मन्दिरको पुजारी हुँ भन्दै महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन आन्तरिम आदेशको माग गर्दै उच्च अदालत जकनकपुरको अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए ।

तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचनामा डोजर लगाएर भत्काएको हो ।

गत फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको छ ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले वित ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।

मन्दिरमा भएको अतिक्रमण हटाउन शनिबार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुग्नु भएको थियो । शनिबार मन्दिरको उत्तर तर्फको संरचना हटाइएकोमा आईतबार पूर्वतर्फको संरचना पनि हटाइएको महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।