परवानीपुर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पालिकाको कामबाट अधिकांश स्थानीय सन्तुष्ट
वीरगन्ज, २५ चैत । परवानीपुर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगी नेपाल संस्थाको आयोजना तथा परवानीपुर गाउँपालिकाको सहयोगमा परवानीपुर गाउँपालिका वडा नम्बर २ को श्री जनता माध्यामिक विद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले जनप्रतिनिधि मालिक नभएर जनताको सेवक भएकोले दिन रात जुन सुकै समयमा पनि आफूहरु जनताको सेवामा समर्पित रहने बताउनुभयो । उहाँले स्थानीय तहको सरकारले गरेको काम ठिक लागेमा ठिक र वेठिक लागेमा बेठिक भन्ने अधिकार जनतालाई भएको र त्यसले नै स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउने बताउनुभयो ।
उहाँले आफूलाई लागेको कुरा निर्धक्कसँग कर्यक्रममा राखेकोमा स्थानीयलाई धन्यवाद पनि दिनुभयो । गाउँपालिकामा आउदा आन्तरिक आयस्रोत नभएको चर्चा गर्दै अहिले तीन करोड बढी आन्तरिक स्रोत परिचालन भएको र त्यसलाई पाँच करोड सम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले प्रत्येक वडामा गरिव निवास बनाउने गरि प्रति वडा पाँच घरका दरले बजेट बिनियोजन गरेकेमा केही समस्याका कारण त्यो काम शुरु नभएको प्रष्ट पार्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले परवानीपुर गाउँपालिकामा खेलाडीहरुको खेल अभ्यासकोलागि रंगशाला निर्माण र जिम संचालनकोलागि पहल गर्ने बताए । निर्वाचनताका आफूले गरिब तथा बिपन्न परिवारलाई ग्यास चुल्हो र सिलिण्डर समेत उपलब्ध गराउने प्रतिबद्धता गरेकोले सोही अनुसार योजना अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनीयारले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा विद्युतीय हाजीरीको ब्यवस्था गरिएको जानकारी दिदै १५ मिनेट ढिलो हाजीर गरेमा आधा दिनको हाजिर काटिने प्रविधि जडान भएको बताउनुभयो । त्यसरी हाजीर गर्ने कर्मचारीको तलव काटिएको जानकारी दिदै सेवाग्राहीका निम्ति १० देखी ५ सम्म कार्यालयमा बसेर सेवा दिने परिपाटीमा कुनै सम्झौता नहुने बताउनुभयो ।
कर्मचारीको अभावमा सेवाको गुणस्तरमा स्वभाविक रुपमा प्रश्न उठने बताउदै रौनीयारले कार्यालयको तर्फबाट सुधारको काम गरिने बताउनुभयो । गाउँपालिकाले ४३ वटा शीर्षकबाट कर उठाउन पाउने जानकारी दिदै रौनीयारले चालु आर्थिक वर्षमा ३ करोड २० लाख राजस्व असुलीको लक्ष्य राखेकोमा चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड २३ लाख राजस्व संकलन भएको जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्त्य सम्म राजस्व संकलन ४ करोड भन्दा बढी हुने उनले बिश्वास ब्यक्त गर्नुभयो । अधिकृत रौनीयारले यो वर्ष असार महिनामा कुनै पनि पूर्वाधार निर्माणको काम नहुने प्रष्ट पार्नुभयो । सबै योजनाहरुको कार्यादेश बैशाखको पहिलो हप्तामा दिईसक्ने बताउदै असारमा कुनैपनि योजनाकाो काम नहुने बताउनुभयो ।
परवानीपुर गाउँपालिका वडा नं–२ का वडा अध्यक्ष महम्मद नुरुलहोदा अँसारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–३ का वडा अध्यक्ष ईब्राहिम मियाँ धोबी, वडा नं–४ का वडा अध्यक्ष गम्भीरा पटेल, वडा नं–५ का वडा अध्यक्ष रामेश्वर साह कलवार, गाउँपालिकाका कानुनी सल्लाहकार महम्मद रफिक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, पत्रकार शम्भु प्रसाद महतोको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा सहयोगी नेपालका कार्यकारी अध्यक्ष तवरेज अहमदले नागरिक अभिमतको बारेमा प्रकाश पार्नुभएको थियो भने । संस्थाका कार्यक्रम संयोजक जितेन्द्र गिरीले कर्यक्रम संचालन गर्नुभएको थियो ।