वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लाण्टको योजना स्थगित 

वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लाण्टको योजना स्थगित 

वीरगन्ज, ६ जेठ । वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ । महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आज विज्ञप्ति जारी गर्दै कोरोना भाईरस संक्रमणको दोश्रो भेरियण्टमा अधिकांश संक्रमितहरु अक्सिजनको अभावमा ज्यान गुमाउन बाध्य भएको अवस्थामा महानगरपालिकाले नारायणी अस्पतालमा केही दाताहरुको सहयोग र महानगरपालिकाको पनि लगानीमा अक्सिजन प्लाण्ट स्थापना

गर्ने योजना सहितको कार्यक्रम अगाडि बढाउँदा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा भएका टिकाटिप्पणीहरुप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउदै नेपाल सरकारले पनि अक्सिजन प्लाण्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएको जानकारी हुन आएको र महानगरपालिकाले अक्सिजन प्लाण्ट स्थापनाका लागि खर्च गर्न नपर्ने भएपछि योजना स्थगित गरिएको जनाएको हो ।

महानगरपालिकाले अक्सिजन प्लाण्ट जडान स्थगित भएपछि यसका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम उनीहरुको सहमती भए कोभिड–१९ नियन्त्रणको अन्य काममा खर्च गरिने समेत बताईएको छ । अक्सिजन प्लाण्ट स्थगित गरेपनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडी बढाईने महानगर प्रमुख सरावगीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

पर्सा क्षेत्र नम्बर २ का संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट खर्च हुनेगरी १ करोड ४८ लाखको बोलपत्र स्वीकृत भईसकेको तर ठेकेदारले हालसम्म पनि अक्सिजन प्लाण्ट आपूर्तिमा ढिलाई गरेकोले महानगरपालिकाले १५ दिनमा अक्सिजन प्लाण्ट लगाउने गरी योजना अगाडी बढाएको अवस्थामा अक्सिजन प्लाण्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लाण्ट जडान गर्न माग समेत गर्नुभएको छ ।

वीरगन्ज महानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएको र केही दिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।