फोहोरलाई मोहर बनाउनुपर्नेमा महानगर प्रमुख सिंहको जोड
वीरगन्ज, १७ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप विकास गर्नुपर्ने बताउनु भएको छ ।
महानगरपालिकाको सहयोगमा सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठीको उदघाटन गर्दै नगर प्रमुख सिंहले सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै र फोहोर व्यावस्थापन गर्न सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले आठ दिने तालिमको आयोजना गरेको हो ।
वीरगञ्ज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याउनुभयो । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको जानकारी दिदै अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउनुभयो ।
गल्लीगल्लीका सडक एवम् नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने उहाँले बताउनुभयो। तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ । तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षक दिइरहेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।