वीरगन्ज महानगरमा भोलीदेखि स्वाब संकलन र कोभिड अस्पताल सञ्चालन हुने 

वीरगन्ज महानगरमा भोलीदेखि स्वाब संकलन र कोभिड अस्पताल सञ्चालन हुने 

वीरगन्ज, २३ बैशाख । कोरोना भाईरस संक्रमणको हटस्पट बनेको वीरगंज माहानगरपालिकामा बैशाख २४ गते शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र स्वाब संकलन एकसाथ संचालनमा आउने भएको छ । वीरगन्ज महानगरपालिकाले गोपाल मण्डली धर्मशालामा स्थापना गरिएको एकसय बेडको अस्थायी कोभिड अस्पताल र एकसय बेडको आइशोलेसन तयारी भएकोले शुक्रबारदेखि संचालनमा ल्याउने तयारी गरेको हो ।

अस्थायी कोभिड अस्पताल र आइशोलेसन तयारी भैसकेको र शुक्रबार ११ बजेपछि संचालन हुने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । सबै तयारी पूरा भएकोले शुक्रबार बिहान ११ बजेदेखि संचालन गरिने महानगर प्रमुख सरावगीको भनाई छ । गोपाल मण्डलीमा एकसय बेड सामान्य लक्षण भएका संक्रमितहरुको लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितको लागि एकसय बेड आईशोलेसन तयार गरिएको छ । 



यसैबीच वीरगञ्ज महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन पनि शुक्रबारदेखि शुरु गर्ने भएको छ । अस्पतालमा गएर परीक्षण गर्दा संक्रमणको सम्भावना उच्च हुने भएकाले प्रत्येक वडा वडामा गएर घुम्ती टोलीमार्फत स्वाब संकलन गर्न लागिएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताउनुभयो । 

परीक्षणको दायरा फराकिलो पार्न वडा वडाबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा महानगरपालिका स्वास्थ्य महाशाखाले आदर्शनगरबाट शुक्रवारदेखि यसको थालनी गरिने भएको छ । शुक्रबार बिहान ७  बजेदेखि १० बजेसम्म वडा नम्बर १० मा स्वास्थ्य महाशाखाको घुम्ती टोलीले स्वाब संकलन गर्ने महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोले बताउनुभयो । 

नारायणी अस्पतालमा संक्रमितको चाप बढेकोले महानगरपालिकाले पनि स्वाब संकलन लामो समय पछि गर्न लागिएको बताए । जनशक्तिको समस्या तथा केही प्राविधिक समस्या भएपनि सबै आवश्यक स्रोतसाधनहरु बिहिवार बेलुकासम्म जुटाई सक्ने र शुक्रवारदेखि शुरु गर्ने महतोको भनाई छ ।