वीरगन्ज महानगरलाई राजनीतिक दलको सुझाव : सबैको अपनत्व हुने गरी बजेट आउनुपर्छ 

वीरगन्ज महानगरलाई राजनीतिक दलको सुझाव : सबैको अपनत्व हुने गरी बजेट आउनुपर्छ 

वीरगन्ज, ५ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रमका लागि यहाँका राजनीतिक दलका प्रतिनिधिसँग सुझाव लिनुभएको छ । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सबै राजनीतिक दलका प्रतिनिधिबाट राय सुझाव लिइएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको महानगरले बजेटमा सबैको अपनत्व बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँग राय सुझाब लिएको हो । वीरगञ्ज बनाउन सबै लाग्नु पर्ने भएकाले बजेटमा सबैको सुझाव र सल्लाह समेट्न खोजिएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

राजनीतिक दलका प्रतिनिधिहरुले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय दिएका छन् । नेपाली कांग्रेस वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठले ट्राफिक समस्या समाधान गर्न विभिन्न स्थानमा स्काई बिज्र बनाउनु पर्ने, पछि जोडिएका वडाहरुमा सडक संजाल विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्रप्रसाद यादवले अहिले पानीको विकराल समस्या देखिएकोले यसको समाधानका लागि दीर्घकालिन उपाय खोज्न आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी (एस) का वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीले सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाव लिने परम्परा थालेकोमा महानगरप्रमुख सिंहलाई धन्यवाद दिनुभयो ।

उहाँले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी सफाईलाई प्राथमिकता दिँदै नदीको राइट अफ वे छुट्याएर करिडोर निर्माण गर्न आग्रह गर्नुभयो । जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफले स्थानीय सरकारले स्थानीय उत्पादनको पहिचान गरेर ब्राण्डिङ गर्दै आयआर्जनलाई व्यवसायिकरण बनाउने गरि बजेट व्यवस्था गर्न माग गरे ।

महानगरले गर्ने काम परदर्शी हुनु पर्ने भन्दै उनले जनसंख्या र भूगोलको आधारमा वडामा बजेट विनियोजन गर्न पनि सुझाव दिनुभयो । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवले पानीको समस्या समाधान गर्न घरबाट निस्कने पानी सोझै नालामा नभई भूमिगत पानीको पुनर्भरणका लागि घरमा व्यवस्था मिलाउन पर्ने सुझाव दिनुभयो ।

महानगर प्रमुख सिंहले वीरगञ्जको विकास र समृद्धिका लागि हरेक महिना सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै आउनुभएको छ ।