मोबाईल एप्लिकेशनबाट फोहोर व्यवस्थापन गर्दै वीरगञ्ज महानगर

मोबाईल एप्लिकेशनबाट फोहोर व्यवस्थापन गर्दै वीरगञ्ज महानगर

वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगरपालिकाले प्रविधिको प्रयोग गर्दै फोहोर व्यावस्थापन गर्ने भएको छ । नगरको फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ ।

द एसिया फाउण्डेशनको सहयोग र क्लिनअप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । क्लिनअप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आगामी दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिनअप नेपालका रविन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ ।

सोमबार महानगर र क्लिनअप नेपालबीच सम्झौता भएसँगै केहीदिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताउनुभयो ।

फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उहाँले बताउनुभयो । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने छ । सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने काम क्लिनअप नेपालका रविन्द्र लामिछाने र विनम्र भुषालले गर्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण द एसिया फाउण्डेसनकी लक्ष्मी कुमारी गुप्ताले गर्नु भएको थियो । महानगरको सभाकक्षमा मंगलबार महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ ।