वीरगन्ज महानगरको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा १० हजार २३३ जना लाभाविन्त 

वीरगन्ज महानगरको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा १० हजार २३३ जना लाभाविन्त 

वीरगन्ज, २७ माघ । वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ मा १० हजार २ सय ३३ जनाले स्वास्थ्य सेवा लिएका छन् । महानगरपालिकाले चालू आर्थिक बर्षको भदौ महिनादेखि पुष महिनासम्म सञ्चालन गरेको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ मा नाम दर्ता गराएका १० हजार ७ सय ८५ जना मध्य १० हजार २ सय ३३ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

महानगरपालिकाले १२ वटा वडामा सञ्चालन गरेको कार्यक्रममा ६ हजार ७ सय ९६ जना पुरुष र ३ हजार ९ सय ८९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्य २९ जना महिला र १६ जना पुरुष गरी ४५ जनामा थप उपचार गर्नुपर्ने देखिएपछि रिफर गरिएको महानगरपालिकाको सामाजिक विकास तथा स्वास्थ्य महाशाखाका प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।

कार्यक्रममा जन्मिएदेखि ७० बर्ष उमेर समूहका व्यक्तिले सेवा लिएका छन् । मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा ४५३ जनाले युएसजी सेवा, ६७ जनाले इसीजी सेवा र ल्याब परीक्षणमा २ हजार एकसय ७२ जनाले सेवा लिएका छन् । पुषसम्म सञ्चालन भएको कार्यक्रममा महानगरपालिकाको ५९ लाख १५ हजार ३ सय ६९ रुपैंया खर्च भएको छ ।

अहिलेका लागि भने कार्यक्रम स्थगित भएको छ । कार्यक्रमलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेण्टर (प्रसुती सेवा केन्द्र) हरुमा नै सेवा उपलब्ध गराउने तयारी भएकोले हालको लागि कार्यक्रम स्थगित भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो । कार्यक्रमलाई दीगोपना दिनका लागि बर्थिङ सेण्टरमा नै डाक्टर सहितको स्थायी रुपमा स्थापना गर्ने तयारी भएकाले अहिले कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।

अहिले पाँच स्थानमा स्थापना गरिएको बर्थिङ सेण्टरबाट डाक्टर सहितको बहिरंग सेवा संचालन गरिने र अर्को बर्ष फेरी अन्य स्थानहरुमा स्थापना भएका बर्थिङ सेण्टरहरुबाट सेवा सञ्चालन गरिने जयसवालले बताउनुभयो । त्यसको महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।