“मेयर घरदैलो स्वास्थ्य शिविर” मा ७ वडाका ७ हजार ३ सय भन्दा बढीले सेवा लिए 

“मेयर घरदैलो स्वास्थ्य शिविर” मा ७ वडाका ७ हजार ३ सय भन्दा बढीले सेवा लिए 

वीरगन्ज, २२ मंसिर । वीरगन्ज महानगरपालिकाले शुरु गरेको “मेयर घरदैलो स्वास्थ्य शिविर” मा अहिलेसम्म ७ वटा वडाका ७ हजार भन्दा बढीले स्वास्थय सेवा लिएका छन् ।

२०७९ साल भदौ २६ गतेदेखि महानगरको वडा नम्बर ३० लालपर्सा बाट शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७, १८, १९, २६, ,३१ र ३२ मा गरी हालसम्म ४ हजार ६ सय ५६  जना महिला सहित ७ हजार ३ सय ५८ जनाले स्वास्थ्य सेवा लिएको महानगरपालिका अन्तर्गतको आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले जानकारी दिनुभयो ।

शिविरमा चेकजाँचका लागि आउने स्थानीयवासीहरुलाई ग्रामीण भेगबाट वीरगंज आउन जान खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित रुपमा सबै किसिमका स्वास्थ्य सेवा सुविधा सहितको स्वास्थ्य जाँच गराउन पाउँदा खुशी व्यतm गरेका छन् ।

महानगर प्रमुख राजेशमान सिंहले स्थानीय तहको निर्वाचन ताका गरेको वाचा पूरा गरेको भन्दै स्थानीयवासीहरुले प्रशंसा समेत गरेका छन् । गाउँका वृद्धवृद्धा, गर्भवती महिला, अन्य स्वास्थ्य समस्या भएका महिला तथा पुरुषहरुका लागि एकै स्थानमा सहज रुपमा सबै सुविधा सहितको स्वास्थ्य शिविर संचालन भईरहेको छ ।

आर्थिक अवस्थाका कमजोर भएका स्थानीयवासीहरुलाई आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले “मेयर घरदैलो स्वास्थ्य शिविर” संचालन गरेको र सेवाग्राहीहरुको उल्लेखनीय उपस्थितिले शिविरको लक्ष्य समेत पूरा भईरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।