नारायणी रंगशाला निर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

नारायणी रंगशाला निर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

वीरगन्ज, १३ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी रंगशाला पुनःनिर्माणअतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।

लामो समयदेखि जीर्ण रहेको वीरगञ्जको नारायणी रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने भएकोले रंगशाला निर्माणका लागि यहाँको सहयोग आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताउनुभयो ।

मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगञ्जमा रहेको नारायणी रंगशाला निर्माणमा आफ्नो चासो रहने बताउनुभयो । त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।

रंगशाला संघ सरकार मातहत रहेकाले संघले यसमा लगानी गर्न सँधै तयार रहेको भन्दै आवश्यक योजना बनाएर आउन पनि उहाँले आग्रह गर्नुभयो ।  मेयर सिंहले मन्त्री लिम्बुलाई वीरगञ्जवासीको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभएको छ ।