अतिक्रमित जग्गा फिर्तामा वीरगन्ज महानगरलाई ऐतिहासिक सफलता, पाँच विगाह भन्दा बढी जग्गा ल्यायो फिर्ता
वीरगन्ज, २९ फागुन । सार्वजनिक ऐलानी जग्गा अतिक्रमण नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाले ठूलो सफलता हात पारेको छ । महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गरेको पाँच विगाह भन्दा बढीको जग्गा महानगरले आफ्नो मातहतमा ल्याएर ठूलो सफलता हात पारेको हो ।
महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लगाउने काम समेत शुरु गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना रहेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेको थियो । यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गासँगै रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गाको यकिन तथ्यांक नभएको हुँदा खोजी कार्यमा कठिनाई भइरहेको भएपनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको उहाँले बताउनुभयो । अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो पटक हो ।
‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’ वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले भन्नुभयो, ‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ ।’ यो अभियान ३२ वटै वडामा निरन्तर संचालन हुने पनि उहाँले बताउनुभयो । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।