जीतपुर सिमरामा एमाले वडा अध्यक्षले लगाए ताल्चा, कारवाहीको लागि सिडिओलाई पत्राचार
वीरगन्ज, १८ साउन । जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्तालाई कारवाहीको माग गर्नुभएको छ । जिल्ला प्रशासन कार्याल बारामा पत्राचार गरेर गुप्ताले पूर्व जानकारी विना नगर कार्यपाललिकाको मूल गेटमा साउन १८ गते तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्य सञ्चालनमा बाधा पुर्याएको भन्दै कारवाहीको लागि माग गर्नुभएको हो ।
नगर प्रमुख पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिमको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुने काम गरेको भन्दै कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार गर्नुभएको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रवक्ता इश्वर केसीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष सुनिल गुप्ताले कुनै कारण विना नै नगरपालिकाको मूलगेटमा ताला लगाएको बताउनुभयो केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ आफै सरकारमा हुनुहुन्छ । आफै कार्यालय बन्द गर्नुहुन्छ । बाटो हिलो भयो भनेर तालाबन्दी गर्नुहुन्छ । वडा अध्यक्ष भएर आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्रको विषयमा सामान्य ज्ञान समेत नराख्नु दुर्भाग्य हो ।’
‘नगर प्रमुखको भूमिका भन्दा वडा अध्यक्षहरुको भूमिका बढी हुन्छ । आफै वडा अध्यक्ष भएरपनि सडक बनाउन नसकेर नगरपालिकाको गेटमा ताल्चा लगाएर लोकलाई हसाउनु भएको छ । नागरिकले वहाँको कार्यक्षमतामाथि प्रश्न गर्नुपर्छ ।’ प्रवत्ता केसीले भन्नुभयो ।
वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले भने वडाका जनताले ताल्चा मारेको बताउनुभयो । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु कार्यालयमा नबस्ने जनताको काममा भन्दा काठमाडौंमै बढी बस्ने गरेकोले आक्रोशित जनताले नगरपालिकामा ताल्चा लगाएको बताउनुभयो ।