महानगर प्रमुख सरावगीको अपिलपछि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग जुट्न थाल्यो 

नेशनल इन्फोटेक बन्यो पहिलो दाता

महानगर प्रमुख सरावगीको अपिलपछि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग जुट्न थाल्यो 

वीरगन्ज, ३ जेठ । वीरगंज महानगरपालिकाले आफ्नै लगानी र केही दाताहरुको सहयोगमा नारायणी अस्पतालमा जडान गर्न लागिएको स्वचालित अक्सिजन प्लान्ट सहित अक्सिजन पाइपलाईनको लागि सहयोग आउन थालेको छ । कोभिड १९ को संक्रमणका कारण दिनहुँ ठूलो संख्यामा मानिसहरुको मृत्यु भैरहको र हजारौको संख्यामा संक्रमितको दर बढेपछि महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले केही दाताहरुको सहयोगमा आफ्नै अक्सिजन प्लाण्ड र पाईपलाईन जडानका लागि सहयोगको सार्वजनिक अपिल गर्नुभएपछि सहयोग जुट्न थालेको हो ।


पर्सा देखि महोत्तरी सम्मका विरामीहरुको उपचार गर्ने केन्द्रिय अस्पताल वीरगंज स्थित नारायणी अस्पतालमा हाल सम्म आफ्नै अक्सिजन प्लान्ट नहुदाँ उपचारार्थ भर्ना भएका विरामीको जिवन जोखिममा पर्न थालेकोले  यस्तो विषम परिस्थितिमा वीरगंज महानगरपालिकाले आफ्नै लगानी र केही दाताहरुको सहयोगमा नारायणी अस्पतालमा स्वचालित अक्सिजन प्लान्ट सहित अक्सिजन पाइपलाईन समेत जडान गर्ने काम केही दिनमा शुरु गर्ने महानगर प्रमुख सरावगीले सार्वजनिक गरेपछि सहयोगहरु जुट्न थालेको हो । अक्सिजन प्लाण्ट जडानको लागि वीरगन्जको नेशनल इन्फोटेकबाट पहिलो सहयोग आएको महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।


नेशनल इन्फोटेक कलेजले अक्सिजन प्लाण्ट र पाईपलाईन जडानका लागि ५१ हजार रकम सहयोग गर्ने जानकारी गराएको उहाँले बताउनुभयो । त्यस्तै क्यानडामा बस्दै आउनु भएका वीरगन्जका अनिल थापाले पनि १ लाख रुपैंया सहयोग पठाउने जानकारी गराएको नगर प्रमुख सरावगीले बताउनुभयो । थापाले आफ्नो बाबु आमाको नामबाट १ लाख रुपैंया सहयोग दिने बताउनु भएको सरावगीको भनाई छ । यसको साथै महानगरपालिकाले अस्पतालमा ३०० केभिको ट्रान्सर्फमर र २० केभिएको युपिएस समेत २ करोडको लागतमा जडान गर्न गइरहेको हुदाँ यस पुन्य कार्यमा सहयोग गर्न चाहने उद्योगी, व्यवसायी तथा सहयोगी मनहरुलाई वीरगंज महानगरपालिकाले हार्दिक अपिल गरेको छ ।