वीरगन्ज महानगरले क्लासिक होटलको भवन भत्कायो, कर्पोरेट बैंकको भवन शुक्रबारपछि भत्किने 

वीरगन्ज महानगरले क्लासिक होटलको भवन भत्कायो, कर्पोरेट बैंकको भवन शुक्रबारपछि भत्किने 

वीरगन्ज, ४ साउन । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरिएको क्लासिक होटलको भवन भत्काएको छ । महानगरले संरचना हटाउने क्रममा मंगलबार आदर्शनगरस्थित क्लासिक होटललाई डोजर लगाएर तोडफोड गर्न सुरु गरेको थियो । तर, जग्गाधनी सफाकत अलीले आफ्नो बुबाले तत्कालीन आदर्शनगर निर्माण समितिबाट पुलमाथिको जग्गा खरीद गरेको जग्गाधनी प्रमाण पूर्जा देखाएर तोडफोड गर्न रोक लगाउँदा विवाद भएको थियो ।

उहाँले पुलमाथिको जग्गा तत्कालीन नगर पञ्चायतले सूचना जारी गरी बिक्री गरेको र बुबाले २०२६ सालमा नगरपञ्चायतसँग खरीद गरेर मालपोतबाट २०३१ सालमा रजिस्ट्रेशन पास गराएको जग्गा भएको प्रमाण देखाउनु भएको थियो । विवादपछि महानगरको डोजर फर्किएको थियो । जिल्ला हुलाक कार्यालय, पर्सादेखि मुख्य नाला सफाइ गर्ने क्रममा हरिखेतान बहुमुखी क्याम्पसमा दुईपटक डोजर चलाईसकेको छ ।

होटल क्लासिकको भवन रहेको जग्गा नगर पञ्चायतको पशुपति आदर्श निर्माण समिति मार्फत डाक बढाबढ अनुसार खरिद गरेर मालपोत कर तिर्दै भोगचलन गर्दै आएको थियो । सोही प्रमाणको आधारमा भवन मालिक सफाकत अलीले होटल सञ्चालनका लागि भाडामा दिएको थियो ।

मुख्य नालामा भएकोले महानगरपालिकाले मालपोत ऐन २०३४ दफा २४ र मुलुकी संहिता २०७४ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता वा आवाद गर्न गराउन हुदैन भन्ने स्पष्ट रहेको आधार र मालपोत ऐन, २०३४ को दफा २४ र मुलुकी देवानी संहिता, २०७४ को दफा ३०५ को अनुसार यो दफा प्रारम्भ हुनु अघि र पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरि आवाद गरेकोमा त्यस्तो दर्ता स्वत : बदर हुनेछ भन्ने कानूनी आधारको महानगरले जिकिर गरेको छ ।

त्यस्तै आवश्यकताको सिद्धान्त (Doctirne of necessity) र (Public trust Doctirne) सार्वजनिक विश्वासको सिद्धान्त तथा स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) क १ को ‘ट’ मा नगपालिकाको काम कर्तव्य र अधिकार भन्दै नालामाथिको भवन भत्काईएको छ ।

तर, देवानी संहिता २०७४ को ३०५ कै (३) मा सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे गराएको सम्बन्धमा कसैको उजुरी परेमा सम्बन्धित मालपोत कार्यालयले त्यस सम्बन्धमा दर्तावाला समेतलाई झिकाई आवश्यक जाँचबुझ गरी उजुरी परेको छ महिनाभित्र आवश्यक निर्णय गर्नु पर्नेछ भन्ने उल्लेख गरिएको छ । यस विषयमा भने महानगरले मालपोतले बोलेको छ छैन भन्ने केही उल्लेख गरिएको छैन । 

तात्कालीन पशुपति आदर्शनगर निर्माण समितिले २०३१ साल असोज २१ गते शहर बसाल्ने क्रममा वीरगञ्ज निवासी अब्दुल जफरलाई उक्त जग्गा विक्रि गरेको थियो । जफरले सोही समयमा वीरगञ्ज महानगरपालिकाबाट नक्शा पास गराई उक्त ठाउमा घर निर्माण गरेका थिए । महानगरपालिकाले तोके बमोजिमको २०३१ साल असोज २१ गते देखी आज सम्मको कर तिर्दै आएको घर धनी अलिको भनाई छ ।

महानगरले आफैले बेचेको जग्गामा ४९ वर्ष पछि उक्त जग्गा सार्वंजनकि हो भन्दै जर्वजस्ती डोजर चलाएको उनको भनाई छ । होटल संञ्चालक सफागत अलिका अनुसार आज भन्दा करीब आठ महिना पहिला २०७९ असोज ५ गतेका दिन जग्गाको सम्पूर्ण प्रमाण पेश गर्न भनेर महानगरले पत्र काटेको थियो । सोही मितिमा आफूले सम्पूर्ण प्रमाण महानगरपालिकामा पेश गरि सकेपनि महानगरले विभिन्न कानूनी आधार उल्लेख गर्दै सूचना टाँस गरेको केही घण्टामै भवनमा डोजर चलाएको हो ।

महानगरपालिकाले बुधबार साँझ डोजर चलाएर भवनलाई पूर्णरुपमा भत्काएको छ । कर्पोरेट डेभेलपमेण्ट बैंक भएको भवन पनि भत्काईने भएको छ । उक्त भवन खाली गर्न बैंकले शुक्रबारसम्म समय माग गरेकोले शुक्रबारसम्मका लागि समय दिईएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।