बारा प्रहरीद्वारा सातवटा ट्रिपर नियन्त्रणमा, गुणस्तरहिन सामान विक्री गर्ने एकजना पक्राउ
वीरगन्ज, १३ कार्तिक । बारा प्रहरीले बिलविजक भन्दा बढी परिमाणको गिट्टी लोड गरेको सातवटा ट्रिपर नियन्त्रण्मा लिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा गएराति साढे आठबजे टिपरहरुलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी परिमाणमा रहेको गिट्टी बालुवा लोड गरेको पाईएकोले ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४ नम्बरको बालुवा लोड गरेको ट्रिपर र प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ ख ५५१४ नम्बरको बलुवा लोड गरेको टिपर नियन्त्रणमा लिएको हो ।
यस्तै गुणस्तरहिन सामान विक्री गरेको आरोपमा सामान सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सुरुती केमिकल उद्योग संचालन गरी सो उधोगको नाममा गुणस्तर हिन हारपीक र अनुमती प्राप्त नगरी मोविल र एसिड समेत महंगो मुल्यमा बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने सिताराम प्रसाद साहर्ला पक्राउ गरेको हो ।
साहसँग हार्पिक लेखिएको निलो बोतल भएको ८ कार्टुन प्रति कार्टुन २४ वटाको दरले ८ कार्टुनमा जम्मा १९२ बोतल बरामद गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो । त्यस्तै पानीको बोतलमा सुपर ननग्रेड आयल लेखिएको लेबल टासिएको ४ कार्टुन प्रति कार्टुन २४ वटाको दरले जम्मा ९६ वटा, नलो २२ वटा ग्यालनमा एसिड प्रति ग्यालन ५० लिटरको दरले २२ ग्यालनमा जम्मा ११०० लिटर पनि बरामद गरेको छ ।
त्यसैगरी ड्रमबाट तेल तान्ने पम्प मेसिन १ थान, टिनको ठुलो खाली ड्रम १ थान, प्लाष्टिकको ठुलो ड्रममा मोविल लतपतिएको ड्रम १ थान, केमिकल भरेको ठुलो १ थान गैलन, खाली प्लाष्टिकको पानी राख्ने बोतल एक बोरा र सुपर ननग्रेड आयल लेखिएको लेबल १३ रोल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।