बाराबाट नेपाली नक्कली नोट सहित तीनजना र पर्साबाट भारतीय नोट सहित तीनजना जना पक्राउ
वीरगन्ज, २४ असोज । नेपाल भारत सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय नोट कारोबारीको विगविगी बढेको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेको छ । त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यावस्था कडा पारेसँगै एकै दिन बारा र पर्सामा नेपाली र भारतीय नोट सहित ६ जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीले भारतीय नोट सहित तीन महिलालाई पक्राउ गरेको छ । त्यस्तै नेपाली नक्कली नोट सहित एकजना भारतीय र दुईजना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय वीर्ता र प्रहरी चौकी इनर्वाले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकबाट भारतीय नक्कली नोट सहित तीन जना महिलालाई पक्राउ गरेको छ ।
अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सिमानाका हुदै भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट नक्कली भारतीय नोट सहित तीनजनालाई पक्राउ गरेको हो ।
रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेकी जिल्ला नुवाकोट साविक गा.वि.स.शिखरवेसी वडा नं.७ बस्ने अन्दाजी ४५ की अनिता तामाङ्ग र उनको साथमा आएकी जिल्ला धादिङ्ग गाउँको नाम थाहा हुन नसकेको बर्ष ३० की मन्जु तामाङ्गले बेकेको झोला चेकजाँच गर्नेक्रममा भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
अनिता तामाङ्गको साथबाट भारतीय दुई हजारको नोट–५५ थान, ५०० को नोट–५३८०।– थान गरी जम्मा २८ लाख नक्कली भारतीय रुपैंया र उनको साथमा आएकी मन्जु तामाङ्गको साथबाट भारतीय पाँच सयको नोट ११२ थान गरी जम्मा भारतीय ५६ हजार रुपैंया स्रोत नखुलेको नगद भारतीय जम्मा २८ हजार ५६ रुपैंया बरामद भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
प्रतिबन्धित नोटहरू ल्याउन उनीहरूसंगै भारतबाट आएका नुवाकोट जिल्ला शिख्रा वेशी वडा नं.७ बस्ने ४४ वर्ष की सरिता अग्रवाल समेतको सलंग्नता देखिएकोले बरामद रकम सहित उनीहरू तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी नौ लाख नेपाली नक्कली नोट सहित बाराबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ को कनकपुरबाट नक्कली नेपाली नोट सहित भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण ग्राम पञ्चायतको पिप्राकाठ्ठी पोष्ट बस्ने रञ्जित मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।
रञ्जितलाई उनको कम्मरको पेटीले बाँधेर लुकाई ल्याएको एकलाख र नम्बर स्पष्ट नबुझिएको होण्डा कम्पनीको साईन एसपी मोटरसाईकलको डिकीमा लुकाई ल्याएको ८ लाख गरी नौ लाख नक्कली नोट सहित पक्राउ गरेको प्रहरी उपरीक्षक वोगटीले बताए । रञ्जितको बयानको आधारमा थप दुईजनालाई पनि बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ का ३६ बर्षीय विनाका मुखिया विन र कलैया उपमहानगरपालिका वडा नम्बर १५ का सैनुल्लाह अन्सारी रहेका छन् । रञ्जित मुखियाले सैनुल्लाहले पैसा मगाएको बयान दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वोगटीले बताए ।
नक्कली नोट सहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान कारवाही अगाडि बढाईएको उनले बताए । सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबारीहरुको बिगबिगी रहेको सूचनाको आधारमा सीमावर्ती बाराको सिम्रौनगढ क्षेत्रलाई केन्द्रित गरेर सुरक्षा चेकजाँचलाई कडाई गर्दा नक्कली नोट सहित पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक वोगटीको भनाई छ ।