नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ
काठमाडौं, २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधार रहेका छन् । तुलाधरलाई २७ असारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सानो भर्याङबाट पक्राउ गरेको हो ।
उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । भुटानी सरणार्थी पक्रणमा थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।
दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।