जसपाको भोट माग्न जाँदा कांग्रेस कार्यकर्ताको कुटाईबाट गम्भीर घाईते, कवही प्रहरी चौकी बेखबर 

जसपाको भोट माग्न जाँदा कांग्रेस कार्यकर्ताको कुटाईबाट गम्भीर घाईते, कवही प्रहरी चौकी बेखबर 
कुटपिटबाट घाईते सौरभको नेशनल मेडिकल कलेजमा उपचार हुदै । तस्वीर : ट्रिब्यून न्युज

वीरगन्ज । बाराको सुवर्ण गाउँपालिकामा जसपाका एक कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेर गम्भीर घाईते बनाएका छन् । सुवर्ण गाउँपालिका वडा नम्बर २ का नेपाली कांग्रेसका कार्यकर्ताहरुले वडा नम्बर ३ का स्थानीय जसपाका कार्यकर्ता सौरभ कुमार यादवलाई कुटपिट गरेर गम्भीर घाईते बनाएका हुन् ।

जसपाका सौरभ यादव लगायत भोट माग्न जाँदा कांग्रेसका ब्रह्मा यादव, शेषनाथ यादव, पप्पु यादव, राजेश्वर यादव लगायतले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सौरभ यादव गम्भीर घाईते हुनुभएको छ । उनीहरुले गएराति सौरभलाई मरणासन्न हुनेगरी कुटपिट गरेर फालेको अवस्थामा स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए ।

अचेत अवस्थामा रहेका घाईते यादवलाई तत्काल उद्दार गरेर उपचारको लागि नेशनल मेडिकल कलेजमा पठाएको थियो । उहाँको अहिले वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भईरहेको छ । घटनाको विषयमा बारा प्रहरी भने बेखबर छ । सुवर्ण गाउँपालिकामा रहेको कवही प्रहरी चौकीका प्रहरीलाई घटनाको विषयमा जानकारी नभएको बाहाना बनाएको पीडितका आफन्तले आरोप लगाएका छन् ।

अहिले नेशनल मेडिकल कलेजबाट प्रहरीलाई जानकारी दिएपछि बल्ल सोधीखोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले पनि सुवर्ण गाउँपालिकाको घटनाको विषयमा जानकारी नआएको बताउनुभयो । 

उहाँले देवताल गाउँपालिका वडा नम्बर २ मा हिजो दिउँसो १ बजे स्थानीय अनिल यादवलाई रोशन यादवले कुटपिट गरेको घटना मात्रै प्रहरीको जानकारी रहेको बताउनुभयो । रोशनले कुटपिट गरेका अनिलको टाउको चोट लागेको उहाँले बताउनुभयो । अनिलको नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।