एकचालिस लाख ५५ हजार रुपैया रकम सहित भारतीय नागरिक पक्राउ
विलविजक भन्दा बढी सामान लोड गरेको ट्रक पनि नियन्त्रणमा
वीरगन्ज, ४ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको रकम र विलविजक भन्दा बढी सामान लोड भएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एकचालिस लाख ५५ हजार रुपैंया सहित भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको हिरो होण्डा ग्लैमर मोटरसाईकलमा आउदै गरेका उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट मोटरसाईकलको सिट र ट्याङ्कीमा लुकाएर ल्याएको नेपाली एकचालीस लाख पचपन्न हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट राकेश कुमारलाई रकम सहित पक्राउ गरेको हो । बरामद गरिएको रकमको श्रोत नखुलेको हुँदा उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, पर्सा प्रहरीले बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू लोड गरेको मालवाहक ट्रक पनि बरामद गरेको छ । विल विजक भन्दा बढी सामान लोड गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भानुचोक स्थित सडकखण्डमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको प्रहरीले जनाएको छ ।
विलविजक भन्दा बढी सामान सहित नियन्त्रणमा लिईएको ट्रकको ६७ लाख ५२ हजार नौ सय ९८ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।