बाराको एरोटेक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो भीडन्त 

वीरगन्ज, १९ भदौ । वीरगन्ज पथलैया औद्योगिक करिडोरको भलुहीमा पर्ने ग्याँस सिलिण्डर उद्योग एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भीडन्त हुँदा एकजना प्रहरी घाईते भएका छन् ।

मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न पुगेको खबर पाएपछि प्रहरी पुगेर रोक्न खोज्दा दोहोरो भीडन्त भएको बा।ाका प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिनुभयो । प्रहरी कारवाहीमा दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुईजना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । शनिबार मध्यरातमा १२÷१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योगमा पसेका थिए ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक ९वरिष्ठ सई० कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।

शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुईजनाको भने नाम सार्वजनिक गरिएको छैन । औद्योगिक सुरक्षा बलको रुपमा औद्योगिक करिडोरमा खटाईएका सशस्त्र प्रहरीलाई सरकारले हटाएपछि पुनः औद्योगिक करिडोर असुरक्षित हुन थालेको छ ।

औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता नेतृत्वको टोलीले सुरक्षा निकायका तल्लो तहदेखि माथिल्लो तहसम्म भेटेर आग्रह गर्नुभएको थियो । तर, त्यसको अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।