वीरगन्जमा ५० रुपैंयामा भरपेट खाना खुवाउन थालेको एकबर्ष पूरा, ७७ हजार भन्दा बढी छाक खाना वितरण
वीरगन्ज, १८ भदौ । उपभोग्य वस्तुको मूल्य आकाशिएको समयमा पनि वीरगञ्जस्थित भरपेट भोजनालयले ५० रुपैंयामै भरपेट खाना खुलाएको एकबर्ष पूरा भएको छ । ५० रुपैँयामा भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा कार्यक्रमको आयोजना गरेको छ ।
पहिलो वार्षिकोत्सवको अवसरमा भोजनालयले शनिबार ‘ईट फर च्यारिटी’ कार्यक्रम सम्पन्न गरेकोछ । भोजनालयमा नियमित भोजन गरिरहेका रिक्शा चालक अक्षयलाल महतोको सभापतित्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य अनिल रुंगटा, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, भरपेट भोजनालयका नियमित ग्राहक श्रवण व्याहुत कलवार लगायतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य अनिल रुंगटाले भरपेटजस्ता जनमुखी कार्यहरुको प्रोत्साहन आजको प्रमुख आवश्यक्ता भएको बताउनुभयो । यो भोजनालयबाट समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्नुहुँदै वहाँले यस्तो पुनित कार्यमा सबैको साझा सहयोगका लागि अपिल समेत गर्नुभएको थियो ।
सरकार र सामाजिक संघ/संस्था दुवै जनताको भलो गर्नका लागि सञ्चालित भएको धारणा राख्नुहुँदै वहाँले विगतका सरकारको कामबाट धेरै खुशी हुनुपर्ने ठाउँ नदेखिएको बताउनुभयो । यस अघिको सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन नसकेका कारण हाल युवाहरुमा चरम निराशा देखिएको बताउनुभयो ।
भरपेट भोजनालयबाट प्रवाह भईरहेको सेवा÷सुविधा प्रति सन्तुष्टि जनाउनुहुँदै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले भोजनालय सञ्चालनार्थ महानगर र आफ्नो व्यक्तिगता तर्फबाट हुनसक्ने हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दैनिक ज्यालादारी गर्ने वर्गलाई भोजनालयले प्रत्यक्ष लाभ पुर्याएको चर्चा गर्नुहुँदै वहाँले यसको व्यवस्थापना सम्हालिरहेको सानो पाइला समूहप्रति विशेष आभार प्रकट गर्नुभयो । यस भोजनालयको सेवा अन्य ठाउँमा बिस्तार गर्दै लाभान्वितहरुको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले निजी क्षेत्रसँग हातेमालो गरेर यसको विस्तार र निरन्तरताका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । वर्षको २० लाख घाटा भएर पनि सञ्चालन भईरहेको भोजनालयबाट लाभान्वित हुनेहरुको संख्या धेरै भएको उल्लेख गर्नुहुँदै वहाँले यसको प्रोत्साहनमा सहयोगका लागि आह्वान गर्नुभयो ।
वहाँले भोजनालयको दिर्घकालिन सञ्चालनका लागि वीउवा संघ पनि सकारात्मक रहेको जिकिर गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता एवम् सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले सुखी समुदाय निर्माणमा सक्रिय सानो पाइलाले वीरगञ्जमा सञ्चालन गरिरहेको भरपेट भोजनालय नमूना परियोजनाका रूपमा स्थापित भएकोमा संस्थालाई बधाई दिँदै प्रगतीको कामना गर्नुभयो ।
भोजनालयका परिकल्पनाकार समेत रहेका नेता झाले भरपेट भोजनालयको सेवा निरन्तरता र विस्तारका लागि योगदान गरिरहनुभएका सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । जीराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले आफ्नो सेवा सुविधा वापतको रकमबाट भोजनालयलाई वार्षिक ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको जानकारी दिएको छ । १ वर्षको अवधिमा भोजनालयको आम्दानी कूल ३८ लाख ९ हजार ८ सय १६ रुपैँया भएको र कुल ५९ लाख ६ हजार ९ सय ६२ रुपैँया खर्च भएको छ ।
कूल २० लाख ९७ हजार १ सय ४६ रुपैँयाको घाटामा भोजनालय सञ्चालन भएको र ५० रुपैँयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैँया खर्च पर्ने गरेको आयोजकको भनाई छ ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्र, वीरगञ्ज महानगरपालिकाकी कार्यपालिका सदस्य, कनिका कौशिक, जीराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसिया,
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकोटा, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रविन्द्र भट्ट, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, प्रकाश थारु, मानवसेवा आश्रम मधेश प्रदेशका संयोजक देवेश मानवसेवालगायतकाको उपस्थिती रहेको थियो ।