समाजको बहिष्करणले अवैध गतिविधि नियन्त्रणमा सहज हुन्छ : एसपी शाह

समाजको बहिष्करणले अवैध गतिविधि नियन्त्रणमा सहज हुन्छ : एसपी शाह

वीरगन्ज, ३० पुष । जिल्ला प्रहरी कार्याल पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले समाजमा हुने आपाराधिक गतिविधि नियन्त्रणमा समाजको अस्वीकार्यताले मुख्य भूमिका खेल्ने बताउनुभएको छ ।

पर्सामा प्रमुख भएर आएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग साक्षत्कार गर्दै उहाँले प्रहरीमा पनि समाजबाटै आउने व्यक्तिहरु हुने भएकोले समाजबाट गलत गतिविधिलाई बहिष्करण गर्ने र अस्वीकार गर्ने परिपाटी स्थापित गर्न सकेमा अपराध नियन्त्रणमा सहज हुने बताउनु भएको हो ।

पर्सा प्रहरीले एक महिनामा गरेको उपलब्धि पनि सञ्चारकर्मीहरुको बीचमा प्रस्तुत गर्नुभयो । प्रस्तुत उपलब्धी अनुसार पर्सा जिल्लामा पुष महिनामा मात्रै १७० वटा विभिन्न घटनाका मुद्दा दर्ता भएको छ । दर्ता भएका मुद्दाहरु मध्य सबैभन्दा बढी महिला झै–झगडा तथा सामाजिक हिंसाका मुद्दा दर्ता भएको छ ।

प्रहरी उपरीक्षक शाहका अनुसार पर्सामा महिला झै–झगडा तथा सामाजिक हिंसाका ७५ वटा मुद्दा दर्ता भएकोमा ३० वटा छिनोफानो भएको र ४५ वटा बाँकी रहेको छ । त्यस्तै घरेलु हिंसा सम्बन्धी २५ वटा मुद्दा दर्ता भएका मध्य १० वटाको किनारा लागेको र १५ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको छ । बैंकिङ्ग कसुरको मुद्दा ५१ वटा रहेको छ । अभद्र व्यवहार शीर्षकमा ४४ जनालाई मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

त्यसैगरी चोरीका २१ वटा, जबरजस्ती करणीका ६, मानव बेचविखन तथा ओसार पसारका ३ र कर्तव्य ज्यान सम्बन्धी ३ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ । लागू औषधमा ३३ जना पुरुष र १ जना महिला पक्राउ परेकोमा पक्राउ परेका मध्य २३ जनामाथि मुद्दा दर्ता भएको छ ।

पक्राउ परेकाहरुबाट ३८४ केजी गाँजा, १४९९ नाईट्रोभेट ट्याब्लेट, फेनारगन र नुर्फिन १३५ एम्पुल, डाईजिल्याब १२८ एम्पुल र कोरेक्स ४४ बोतल बरामद भएको प्रहरीको तथ्यांकमा देखाएको छ । त्यस्तै प्रहरी उपरीक्षक शाह पर्सामा आएपछि ४ करोड ८७ लाख ७० हजार ८० रुपैंया बराबरको भन्सार चोरी पैठारीको सामान बरामद गरेको बताउनुभयो ।

पुष महिनामा चोरीका १६ वटा मोटरसाईकल बरामद भएको छ । मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा १३ जना नेपाली र ३ जना भारतीय नागरिक पक्राउ गरेको तथा १२ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।