लागू औषधको तस्करीमा नयाँ तरिका, रसवरीको डिब्बामा लागूऔषध बरामद, चारजना पक्राउ
वीरगन्ज, ७ असोज । लागू औषध तस्करी गर्ने गिरोहले नयाँ तरिका अपनाएका छन् । रसवरीको डिब्बामा लागू औषध तस्करी गर्ने दुइ जनालाइ प्रहरीले वीरगन्जबाट पक्राउ गरेपछि लागू औषध तस्करी गर्ने गिरोहको नयाँ तरिकाबारे प्रहरीले थाहा पाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको रसवरी (मिठाई) को डब्बा भित्रबाट लागू औषध १०० एमएलको बिनपिरेक्स सिरप १ सय २० थान बरामद भएको हो ।
लागू औषध सहित बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थितबाट लागूऔषध खैरो हेरोइनसहित थप दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर –२ बस्ने सुरज पासवान र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर –१६ बस्ने लक्ष्मण विष्टलाई ६ वटा पुरियामा रहेको ३.४० ग्राम खैरो हिरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार लागू औषधसहित पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।