सशस्त्र प्रहरीद्वारा बाराबाट पेस्तोल सहित एक भारतीय पक्राउ
वीरगन्ज, १८ पुष । सशस्त्र प्रहरीले बाराबाट पेस्तोल सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ गुलरियाबाट पेस्तोल सहित भारतीय नागरिक पूर्वी चम्पारण मोतिहारी–१६ बस्ने ४० बर्षीय चन्दन सिंहलाई पेस्तोल सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ४ गुलरिया नाकाबाट भारतबाट नेपालतर्फ आउदै गरेका चन्दनको गतिविधि शंकास्पद लागेपछि उनलाई रोकेर चेकजाँच गर्दा
उनको दाहिने कम्मरमा होस्टाईलभित्र राखिएको मोडेल नम्बर २०२२ (आरएफआईं) पेस्तोलमा तीन राउण्ड लोड भएको अवस्था र होस्टाईलमै राखिएको पेस्तोलमा लाग्ने थप चारवटा बुलेट गोली र म्यागेजिन बरामद भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।
उनको साथबाट भारतीय रुपैंया ११ हजार २ सय ७० र आफ्नो, श्रीमतीको र उनको दाईको गरी तीनवटा आधार कार्ड तथा ओप्पो कम्पनीको मोबाईलपनि बरामद गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।
पेस्तोल सहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानपछि थप कारवाही अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।