वीरगन्जबाट लोड गरेर गएको ट्रक बारा प्रहरीको नियन्त्रणमा, पर्सा प्रहरीको नियतमाथि गम्भीर आशंका
वीरगन्ज, ६ असोज । बारा प्रहरीले बिलबिजक भन्दा बढी सामान बोकेको दुई वटा ट्रक बाराको छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ । वीरगन्जबाट रौतहटतर्फजादै गरेको ना ३ ख ४४९१ नम्बरको ट्रक हिजो जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै वीरगंजबाट रुपन्देहीतर्फ जादै गरेको बा.प्र.–०३–००१.ख.२३११ नम्बरको ट्रक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा नियन्त्रणमा लिएको हो । वीरगन्जबाट विभिन्न हार्डवेयर तथा खुद्रा सामान लोड गरेर गएको दुईवटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जीतपुरको टोलीले नियन्त्रणमा लिएको ट्रबाट बिलबिजक भन्दा बढी अन्दाजी ५१ लाख ४६ हजार ७५४ रुपैया बराबरको खुद्रा सामान बरामद गरेको छ ।
त्यस्तै पथलैयामा नियन्त्रणमा लिएको ट्रकमा अन्दाजी ३२ लाख ६ हजार ३ सय २२ रुपैया मूल्य बराबरको हार्डवेयर तथा खुद्रा सामानको सामान बरामद गरेको छ । पर्साको प्रहरी संगठनलाई तस्करीको लाईन दिएको आरोप लागि रहँदा वीरगन्जबाट सामान लोड गरेको गएको ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएपछि आम नागकिरले भने पर्सा प्रहरीको सुरक्षा निगरानीमाथि प्रश्न उठाउन थालेका छन् ।
केही दिन अघि पर्सामा दुईजनाको मृत्युको घटनाले झस्काएको पर्सा प्रहरीलाई बारा प्रहरीले बिलविजक भन्दा बढी सामान लोड भएको ट्रक नियन्त्रणमा लिएपछि थप तनावमा पारेको छ । यसैपनि पर्साको नाकाबाट खुलेयाम तस्करी भईरहेको सामाचारहरु आईरहेका छन् । प्रहरीले भने सुरक्षा व्यावस्था र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी काम गरेको दावी गरेको छ । तर, यो दावीलाई विलविजक भन्दा बढी सामान सहितको ट्रक बरामदीले प्रहरीले गरेको दावीलाई अस्वीकार गरिदिएको छ ।
प्रहरी मात्रै होईन भन्सार भित्रै पनि अवैध पैठारीमा सेटिङ भएको आशंका गरिएको छ । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाटै जाँचपास भएर बाहिर निस्किने गाडीहरुमा नै बीलविजक भन्दा बढीको सामान रहेको भेटिने गरेको छ । अवैध पैठारीका लागि भारतीय नम्बर प्लेटका नक्कली गाडीहरु पनि प्रयोग गरेको भेटिएको छ । केही दिन अघि मात्रै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले एउटै नम्बर प्लेट भएको दुईवटा भारतीय ट्रक नियन्त्रणमा लिएको थियो ।
एउटामा लोड रहेको थियो भने अर्को उही नम्बरको खाली ट्रक सशस्त्र प्रहरीले बरामद गरेको थियो । यी घटनाहरुको बारेमा प्रहरीलाई सूचना नआएको हो भने, प्रहरीको सूचना संयन्त्र कमजोर रहेको छ भन्न सकिन्छ । होईन भने प्रहरीको संरक्षणमा नै तस्करी भएको हो भन्ने पर्याप्त आधार हुने जानकारहरु बताउछन् । भन्सारबाट तीन किसिमबाट सामान पास हुने गरेको छ ।
पहिलो ग्रिन च्यानलबाट पास हुने सामानमा कुनै चेकजाँचको आवश्यकता पर्दैन । दोश्रो एल्लो अर्थात पहेंलो च्यानलबाट पास गर्ने सामानको शंका लागेमा चेकजाँच गर्ने गरिन्छ । तेश्रो रेड अर्थात रातो च्यानलबाट भने त्यस्ना वस्तुहरु जो धेरै शंकास्पद हुन्छन र त्यसलाई तथ्यपरक र वस्तुगत अनुसन्धान गरेपछि मात्रै पास गरिन्छ । त्यसमा पनि निकै विवादित रहेको भन्सार महशुल दरवन्दीले अझ त्यस्ता सामानहरु छिर्नका लागि सही मूल्यांकन गर्नुपर्ने हुन्छ ।
तर, विलविजक भन्दा बढी मूल्यकै सामान राजमार्गमा समातिनुले तस्करीको लाईन छ भन्ने कुराको पुष्टि हुन्छ । अर्को ढुवानी गर्ने विन्दुबाट ट्रकमा भीसीटीएस पनि अनिवार्य गरिएको छ । भीसीटीएस नै साथमै लिएर गएको ट्रकमा कसरी बिलविजक भन्दा बढीको सामान आउछ ? यो गम्भीर प्रश्न हो । यस विषयमा प्रहरीले कति सूचना पाएको छ र कति गहिरो अनुसन्धान प्रहरीले गरेको छ भन्ने कुरामा भरपर्छ ।
प्रहरीले कहिलेकाही भन्ने गर्छ, ‘खुला सीमा हो शतप्रतिशत शुन्यमा झार्न सकिदैन ।’ त्यो सम्भव पनि नहोला तर, ट्रक मै लोड भएर राजमार्गको बाटो भएर नै ट्रक पार हुने र छिमेकी जिल्लाको प्रहरीले सामान सहितको ट्रक नियन्त्रणमा लिनुले पर्सा प्रहरीको नियतमा स्थानीय नागरिकले शंका गरेका छन् ।