१९ राउण्ड गोली सहित भारतीय नागरिक पक्राउ
वीरगन्ज, ८ साउन । पर्सा प्रहरीले वीरगञ्जबाट १९ राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं.१४ बस्ने २२ वर्षीय मुरारी कुमार कुश्वाहा रहेका छन ।
उनलाई आईतबार राति वीरगंज महानगरपालिका–८ भानुचोक स्थित बसपार्कमा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा उनी भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रभु अस्पताल नजिकैबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका मुरारीले बोकेको झोलाबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए । उनको साथबाट 12 Shaktiman 12 Express लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, KF 12 लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान, 12KF 1296 लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड फेला परेको प्रहरी उपरीक्षक शाहले बताए ।
गोली सहित पक्राउ परेका उनलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ । यसअघि वीरगन्जको वडा नम्बर ६ कार्यालय नजिकै नाला सफा गर्ने क्रममा पनि २०५ राउण्ड विभिन्न हतियारका गोली बरामद गरिएको थियो ।
बरामद भएको उक्त गोलीको सम्बन्धको कुनै अनुसन्धान प्रतिवेदनहरु सार्वजनिक भएको छैन । नालामा गोली बरामद हुनु र यसरी दिन दहाडै गोली सहित मानिस पक्राउ पर्न थालेपछि वीरगन्जमा सुरक्षा चिन्ता पनि बढेको वीरगन्जवासीले बताएका छन् ।