वीमा प्राधिकरणको नियम विपरित गर्नेलाई कारवाहीको चेतावनी
वीरगन्ज, ५ असोज । वीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको पटक पटकको चेतावनी र आदेशलाई वेवास्ता गर्दै नियम बिपरित कार्य गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
यो वर्षलाई प्राधिकरणले कारवाही गर्ने वर्षको रुपमा मै लिएको भन्दै परिधी र नियममा बसी काम कारवाही गर्न सचेत गराउनुभयो । अध्यक्ष सुर्यप्रसाद सिलवालले प्राधिकरण अब कम्पनी मात्रै नभइ कर्मचारीलाइ पनि कारवाही गर्न नचुक्ने बताउनुभयो ।
बीमा प्राधिकरण, मधेस प्रदेशद्वारा वीरगन्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले प्राधिकरणले तीनै तहको सरकारसंग समन्वय गरि बीमाको क्षेत्र फराकिलो पारेपनि कम्पनीको निष्क्रियता र कर्मचारीको उदासिनताले फाइदा उठाउन नसकेकोमा रोष प्रकट गर्नुभयो ।
वीमाक्षेत्रमा काम गर्न चुनौती रहेको स्वीकार्दै चुनौतीमा अवसर खोज्न आग्रह गर्नुभएको छ । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खडकाले बीमा क्षेत्रमा विद्यमान विकृति र विसंङ्गतीहरुलाई चिर्दै आजको बजारमा बीमाको प्रतिष्ठालाई थप सम्मानजनक बनाउन आवश्यक रहेको औंल्याउनुभयो ।
यसको लागि नेपालकै उत्कृष्ट ५ वटा कम्पनीहरुको पहलमा सकारात्मक कदमहरु चाल्ने प्रयास भइरहेको जानकारी पनि गराउनुभयो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील सुवेदी, रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बहादुर लगायतका सहभागी रहेको थियो ।
कार्यक्रमको संचालन प्राधिकरणका मधेस प्रमुख कुसुम शर्माले गर्नुभएको थियो ।सो अवसरमा यस भेगका जीवन तथा निर्जीवन बीमा कम्पनीका क्षेत्रीय र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।