ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा आदर्शनगर चोकमा पिउनेपानीको व्यावस्था 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा आदर्शनगर चोकमा पिउनेपानीको व्यावस्था 

वीरगन्ज, ८ साउन । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज – १० स्थित आदर्शनगर चोकमा निःशुल्क पिउने पानी मेसिन जडान गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले आदर्शनगर चोकमा निःशुल्क चिसो पिउने पानी मेसिन, पानी ट्याङ्की, मिटर र मोटर जडान गरेको हो ।

वीरगञ्जमा अहिले पानीको अभावले समस्यामा परेको अवस्थामा मेसिन जडानले थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको भनाई छ । त्यस्तै सडकमा हिँडिरहेका बटुवा र अन्य सर्वसाधारण समेत निःशुल्क खानेपानी मेसिनबाट लाभान्वित हुने खेतानले बताउनुभयो । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेसिनको आज उद्घाटन गर्नुभएको हो ।

यसैगरी खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य आजबाट नै सुरु गर्ने गरी आवश्यक सबै प्रक्रिया मिलाइसकेको वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।  खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनेले नछोएका वडा तथा स्थानमा भने टङ्की नै राख्ने प्रबन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।

गर्मी मौसममा चापाकल सुकेपछि अरू कुनै पानीको स्रोत नभएकाहरूको जनजीवन कष्टकर हुँदै गएकाले महानगरले नगरवासीको जनजीवन सहज बनाउन आवश्यक व्यवस्था मिलाएको हो । केही दिनभित्रै ३२ वटै वडामा आफूहरूले धारा जडानका साथै टङ्की राखिसक्ने गरी काम गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।