पर्सामा लुकिछिपी गाँजाखेती शुरु
कृष्ण मोहन साह
सेंढवा, १९ पौष । पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाँजाको खेती फेरि शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।
पर्साको सोनवर्षा ,शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवसती, बिजयबस्ती, परसवा जितपुर, निचुटा, प्रसौनीविर्ता, सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिकका गाविसहरुमा कारोबारीहरुले लुकिछिपी गाँजा रोपेको स्थानीयवासीले बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसंँग जोडिएका क्षेत्रहरुमा बढीजसो गाँजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाँजा रोपेका छन् । १०/१२ वर्ष देखि गाँजाको खेती बन्द हुँदा पर्सामा गाँजाको बीउm नपाउने भएपछि यहाँका गाँजा कारोबारीहरुले मकवानपुरका पहाडी क्षेत्रबाट बीउ ल्याएर रोपेका हुन् ।
कतिपय स्थानमा भने गाँजाका कारोबारीहरुको लगानीमा गाँजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले भने आफूलार्इ पर्सामा गाँजा खेती भएको बारेमा जानकारी नभएको बताउनुभयो । उहाँले अब त्यस क्षेत्रमा गाँजा फाँड्ने टोली नै परिचालन गरेर गाजा खेती मा संलग्न लाई कार्वाही गरिने बताउनुभयो।
यसैबीच पर्साको जिराभवानी गाउँ पालिकामा प्रहरीले अबैध रुपमा लगाइएको पाच कठा गाँजा खेती फाडेर नष् गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवा बाट प्रहरी नायब निरीक्षक अजय कुमार ठाकुरको नेतृत्व मा गएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–३ सहजानपुरमा अवैध रुपमा लगाइैएको पाँच कठ्ठा क्षेत्रफलको गाँजा खेती फाँडेर नष्ट गरेको हो ।
गाँजा खेती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।