पर्साका प्रजिअ सहितको सुरक्षा टोलीद्वारा सांगितिक कार्यक्रम स्थलको निरीक्षण
वीरगन्ज, १८ मंसिर । वीरगंजमा भोलि हुने नेपथ्य लाईभ कन्सर्टको आवश्यक सुरक्षा व्यावस्थाका लागि आज जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् ।
मनाव सेवा आश्रमको भवन निर्माणका लागी मानव सेवा आश्रमको सहकार्यमा नेपालको चर्चित व्याण्ड नेपथ्यले मानवता प्रवद्र्धनका लागी सांगितिक यात्रा शुरु गरेको छ । नेपथ्यले भोली वीरगंजमा प्रस्तुती दिने छ ।
वीरगन्जको आदर्शनगर रंगशालामा भोली मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती हुदै । सांगितिक प्रस्तुतीका लागि नेपथ्य व्याण्ड वीरगन्जमा आईपुगेको र आवश्यक स्टेज निर्माणको काम धमाधम भईरहेको छ ।
सुरक्षा व्यावस्था मिलाउनका लागि आज पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वमा कार्यक्रम स्थलको निरीक्षण गरेको वीरगन्जको सांगितिक कार्यक्रमका संयोजक गणेश लाठले बताउनुभयो ।
विगतमा आयोजना भएका सांगितिक कार्यक्रमहरुमा सधैं तनाव हुने गरेकोले कार्यक्रमलाई शान्तिपूर्ण र सभ्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा निकायबाट हुने जुनसुकै सहयोग दिन स्थानीय प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
मानवीय सेवाका लागि आयोजना गर्ने कार्यक्रममा उछृङखल गतिविधि गर्नेहरुलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने प्रजिअ ढकालले बताउनुभयो ।
सुरक्षा अवस्थाको जानकारी लिन पुग्नुभएका प्रमुख जिल्ला अधिकारी ढकालले कार्यक्रम स्थलमा निर्माण गरिने स्टेज तथा प्रवेशद्वार र वरिपरीको सुरक्षा अवस्थाको बारेमा विस्तृत विवरण लिनुभएको थियो ।
कार्यक्रम स्थलमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, वडा प्रहरी वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक तीर्थराज बस्नेत,
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कार्यक्रम आयोजना संयोजक गणेश लाठ, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, वीरगन्ज महानगरपालिकाका नगर प्रमुखका सल्लाहाकार प्रकाश अमात्य लगायतको उपस्थिति रहेको थियो ।