वीरगन्ज, २ असोज । कोभिड–१९ देखि नै थलिएको नेपाली अर्थतन्त्र लयमा आउन नसक्दा यसको बाजारमा नकारात्मक असर प्रभावहरु देखिएका छन् । चाडवाड शुरु हुनुभन्दा ६ महिना अघिदेखि नै बजारका उपभोग्य वस्तुहरुको व्यापारमा वृद्धि हुने गरेको बजारमा अहिले चाडवाड शुरुहुँदा पनि चहलपहल प्रायः शुन्य छ ।
संकटपूर्ण अवस्थामा गुज्रिएको नेपाली अर्थतन्त्रमा रुस–युक्रेनबीचको लामो युद्धले पनि प्रभावित पारेको छ । त्यसबाट उत्पन्न संकटलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले लिएको नीति र सरकारले ल्याएको बजेटले पनि व्यावसायलाई खास चलायमान गर्ने वातावरण नबनाएको व्यावसायीहरु बताउछन् ।
आजभोली जुनसुकै फोरममा पनि भेटिने व्यावसायीहरुले देशको आर्थिक अवस्था जर्जर भएको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन् । औपचारिक वा अनौपचारिक भेटघाटका क्रममा पनि उनीहरु बजारको अवस्था देखेर निराश र चिन्तित हुने गरेका छन् । चाडवाड नजिकिदै गर्दा बजारमा चहलपहल बढ्ला भन्ने आशा गरेका व्यवासायीहरु अहिलेसम्म बजारको अवस्थाले गति लिन नसक्दा चिन्तित भएका हुन् ।
नेपालीहरुको चाडवाडमा किनमेलको मुख्य बजार भन्ने गरेको छिमेकी देश भारतको सीमापारी बजार रक्सोलमा पनि खासै रौनक देखिदैन । आकाशिएको महंगी र व्यापार व्यावसायमा आएको मन्दीले दुवैदेशको सीमावर्ती बजारमा कारोबार खासै नभएको व्यापारीहरु बताउछन् । यतिखेर भारतीय सीमापारी बजार राक्सोलमा नेपाली ग्राहकहरुको भीड शुरु हुनुपर्ने हो । तर, सीमापारी बजारमा पनि नेपाली ग्राहकहरुको उपस्थिति कमै देखिएको छ ।
वीरगन्ज भन्सार हुदै सीमामारी रक्सोलमा किनमेल गर्न जानेहरु तीनपांग्रे अटो, टाँगा र इरिक्सा लगायतका सवारी साधनमा खचाखच भरिने गरेको थियो । तर, अहिले रक्सोल वीरगन्ज चल्ने सवारी साधनहरुमा खासै भीड देखिदैन । भारत र तेश्रो मुलुक हुदै आयात निर्यात हुने वीरगन्ज मुख्य नाकामा चालू आर्थिक बर्षमा दिएको लक्ष्य समेत पूरा हुन सकेको छैन ।
वीरगन्ज भन्सार (आईसीपी) को तथ्यांक अनुसार चालू आर्थिक बर्षको पहिलो महिना साउनमा पनि लक्ष्यको ७५ प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन भएको छ । यसले पनि आयातमा कमी आएको देखिन्छ ।
त्यस्तै सुक्खा बन्दरगाह भन्सार कार्यालयको पनि अवस्था उस्तै छ । चालू आर्थिक बर्षको साउनमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने ९६ प्रतिशत राजस्व संकलन गरेको छ । तर, सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलन औद्योगिक कच्चा पदार्थहरुबाट बढी असुली भएको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट अहिले चाडपर्व लक्षित उपभोग्य वस्तुहरु खासै नआएको कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयले चाडवाड लक्षित वस्तुको तथ्यांक नराख्ने गरेको जनाएको छ । सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले अहिले सामानहरु नै धेरै आयात नभएको र चाडवाड लक्षित भनेर खासै वस्तुहरु नआएको बताउनुभयो ।
वीरगन्ज भन्सारबाट आयात हुने सामानको तथ्यांक समेत भन्सार विभागबाटै लिएर कार्यालयको वेभसाईटमा राख्ने गरेको प्रतिक्रिया दिनुभयो । यसपटक शुरु भएको चाड तीज र विश्वकर्मा पूजाले पनि बजारको अवस्थालाई चित्रण गरेको छ । तीज पर्वदेखि नै बजार चलायमान हुने गरेकोमा यसपटक तीजमा पनि बजारले खासै गति नलिएको व्यापारीहरु बताउछन् ।
उपभोग्य वस्तु र श्रृंगारका सामग्रीका मुख्य ग्राहक भनेको महिलाहरु हुन् । त्यहि महिलाहरुले यसपटकको तीजमा खासै सामान खरिद नगरेको उनीहरु बताउछन् । वीरगन्ज माईस्थानमा रहेको खाटु श्याम इम्पेक्सकी संचालिका सोना शर्माले व्यापारको अवस्था खराब रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘व्यापार खराब छ । बैंकको ऋण तिर्न सकिरहेको छैन । अलि अलि आउने ग्राहक पनि रक्सोल जान्छन् । हाम्रो व्यापार चलेको छैन । कर पनि बढेको छ । व्यापार नै भएन भने कहाँबाट तिर्ने ?’ पसल नचलेपछि पसलमा राखिएका कामदार पनि हटाएको सोनाले बताउनुभयो । बजारमा मन्दी छाएपछि बेरोजगारीको संख्या पनि बढेको छ । व्यापार नभएर व्यापारिक फर्महरुले कर्मचारी कटौती गर्दा बेरोजगारीको समस्या बढेको हो ।
चाडपर्व नजिकिदा पनि बजारमा खासै रौनक नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चाडपर्व आईसक्यो । व्यापार छैन । राज्यको कर उठ्न सकेको छैन । उद्योग व्यापार चले पो राजस्व पनि उठ्छ । उद्योग व्यापार नै नचलेपछि कर संकलन नहुनु स्वभाविक हो ।’
बजारमा मन्दी, भन्सार महशुलमा समस्या, राजस्व विभागको छापामारी इत्यादिका कारणले अहिले व्यापारीहरु त्रसित बनेको उनको भनाई छ । अग्रवालले थप भन्नुभयो, ‘बजार चलायमान भए पो राजस्व संकलन हुुन्छ । व्यावसायी पनि खुशी हुन्छन् । जनतालाई पनि राहत हुन्छ । अहिले न त जनतालाई राहत छ । न व्यावसायी खुशी हुन सकेका छन् । न राज्यले राजस्वको लक्ष्य नै पूरा गर्न सकेको छ । यो समस्यालाई निजीक्षेत्र र राज्य दुवैपक्ष एकठाउँमा नबसेसम्म यस्तै रहन्छ ।’
बजारको अवस्था मापन गर्ने एउटा र्को महत्वपूर्ण पक्ष भनेको असोज १ गते मानाईने विश्वकर्मा पूजा हो । उद्योग, कलकारखानाका मजदूर कर्मचारीहरुले खुशी र हर्षोल्लासका साथ उद्योगहरुमा विश्वकर्मा पूजा गरेर मनाउने गर्छन् । कतिपय उद्योग प्रतिष्ठानहरुले मजदूर कर्मचारीहरुलाई सोही दिन दशैंको लत्ता कपडा लगायत दिने गरेका छन् । तर, यसबर्षको विश्वकर्मा पूजा पनि खल्लो देखियो । साना ग्यारेजदेखि ठूला उद्योग, कलकारखानासम्ममा विश्वकर्मा पूजामा पनि सुनसान प्रयाः देखिएको छ ।